काठमाडौं, असार: एसिसी इमर्जिङ टिम्स कप बिहीबार(आज)बाट श्रीलंकामा सुरु हुँदैछ। प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको पहिलो दिन श्रीलंका र बंगलादेशको ‘ए’ टिमले प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै, अर्को खेलमा अफगानिस्तान र ओमानको ‘ए’ टिम एक-अर्काविरुद्ध भीड्दै छन्।
एसिसी इमर्जिङ टिम्स कपमा नेपाल बाहेक बाँकी सबै ७ टिमले ‘ए’ टिमलाई सहभागिताका लागि श्रीलंका पठाएका छन्। नेपालले पनि नियमित टिममा केही खेलाडी हेरफेर गरेपनि आफ्नो राष्ट्रिय टिमनै श्रीलंका पठाएको छ। नेपालले एसियाकपको तयारीका लागि राष्ट्रिय टिमनै पठाएको जनाएको छ।
जिम्बाब्वे विश्वकप छनोटमा गएको टिमका पाँच खेलाडी अहिले टिममा छैनन्। जहाँ नयाँ अन्य खेलाडीलाई अवसर दिइएको छ। टोलीमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी अहिले टिममा छैनन्। दीपेन्द्र र सन्दीपले क्यानडमा हुने ग्लोबल टी-२० का कारण टिममा नरहँदा आरिफले टिम घोषणा भएपछि घरायसी कारण देखाएर नाम फिर्ता लिएका थिए। ज्ञानेन्द्र र करणलाई भने यो पटक टिममा बोलाइएन।
समूह ‘बी’मा रहेको नेपाले आफ्नो खेलमा १४ जुलाईमा पाकिस्तानसँग खेल्दा १७ जुलाईमा भारत र १९ जुलाईमा युएइसँग खेल्ने कार्यतालिका रहेको छ।