लभस्टोरी फिल्ममा आर्यन सिग्देलको बेग्ले छवि छ । ‘किस्मत, मेरो एउटा साथी छ, कसले चोर्यो मेरो मन, कोही मेरो, नोभेम्बर रेन, क्लासिक’ जस्ता फिल्ममा उनले गरेको अभिनयको आज पनि चर्चा हुने गरेको छ । उनले केही फिल्म आफ्नो ‘कम्फर्ट जोन’ भन्दा बाहिरको पनि गरे । तर, दर्शकले उनलाई लभर ब्वाईभन्दा बाहेकको भूमिकामा पटक्कै रुचाएनन् ।
निर्देशक दिनेश राउतले पनि लभस्टोरी फिल्ममा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । ‘नोभेम्बर रेन र क्लासिक’ मा उनको निर्देशकीय क्षमताको प्रशंसा भएको थियो । फरक विषयवस्तुमा बनेको ‘प्रसाद’ मा पनि उनले प्रेमकथालाई मनछुने ढङ्गबाट उनेका थिए । निर्देशक राउत आफूले निर्देशन गर्ने फिल्ममा आर्यनबाहेक अरू रोज्दैन थिए । आर्यन पनि दिनेशको फिल्म भनेपछि आँखा चिम्लिएर साइन गर्थे । फिल्म क्षेत्रमा उनीहरूको मित्रतालाई उदाहरणका रूपमा समेत लिने गरिन्थ्यो । तर, रङ्गीन दुनियाँमा दुश्मनी र मित्रता धेरै समय टिक्दैन भन्ने गरिन्छ । एक फिल्मको सिलसिलामा आर्यन र दिनेशको सम्बन्धमा पनि तिक्तता उत्पन्न भयो ।
आर्यनसँग सम्बन्ध बिग्रिएपछि दिनेशले हरेक नयाँ फिल्ममा फरक-फरक अभिनेतासँग काम गरेका छन् । ‘पर्व’ मा कोशिश क्षेत्री, ‘प्रसाद’ मा विपिन कार्की र हालै छायाङ्कन सकिएको फिल्म ‘प्रकाश’ मा प्रदीप खड्कालाई उनले एक्सन कट गरे । तर, आर्यनसँग उनको टिमअप हुन सकेको छैन । यद्यपि, दुवैले आफूहरूको सम्बन्धमा दरार आएको कुरालाई अफवाह बताउँदै आएका छन् । आर्यन र दिनेशबीच राम्रो सम्बन्ध नभएको चर्चा चलिरहँदा केही दिनअघि उनीहरूबीच भेटघाट भएको छ ।
निर्देशक राउतसँग भेट भएको एक तस्बिर आर्यनले आफ्नो इन्स्टाग्राममा श्यर गरेका छन् । यो भेट फिल्ममा टिमअपका लागि हुनसक्ने अनुमान गरिएको छ । तर, दुवैले भेटबारे बोलेका छैनन् । उनीहरूबीच पुनः टिमअप भएको खण्डमा दर्शकका लागि पनि खुसीको खबर हुनेछ ।