फिल्म प्राविधिकहरूका लागि छुट्टै अस्पतालको माग गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरले मुलुक आक्रान्त भएका बेला फिल्म निर्माणका मेरुदण्ड मानिने प्राविधिकहरू समस्यामा परेको खबर सुनेपछि छुट्टै अस्पतालको आवश्यकता महसुस भएको फिल्म प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए ।
सङ्क्रमणका कारण मानिसहरूको जनजीवन अत्यन्त कष्टकर भएको छ भने विभिन्न क्षेत्र बन्द हुँदा बेरोजगारी बढेको छ । यतिबेला फिल्म क्षेत्रको अवस्था पनि विकराल छ । निषेधाज्ञाभन्दा अगावैदेखि फिल्म निर्माण र प्रदर्शनमा सरकारले रोक लगाएको थियो ।
अब कहिले खुल्छ, यसै भन्न सकिने अवस्था छैन । फिल्म क्षेत्रका गतिविधि ठप्प हुँदा सबैभन्दा बढी समस्यामा प्राविधिकहरू परेका छन् । दैनिक फिल्ममा श्रम गरेर परिवारको गुजरा चलाउँदै आएका उनीहरू निषेधाज्ञापछि घरभित्रै सीमित छन् । जसले गर्दा प्रायः प्राविधिकको घरमा चुल्होसमेत बल्न छाडेको छ । फिल्म निर्माणका मेरुदण्ड मानिने प्राविधिकहरू समस्यामा परेको खबर सुनेपछि फिल्मकर्मीहरूबाट सहयोग जुटिरहेको छ ।
यसैक्रममा, शनिबा २ सय ५० जना प्राविधिकलाई खाद्यान्न वितरण गरिएको छ । ‘लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्ट, नव-नायक नवीन लम्साललगायतको सहयोगमा चामल, दाल, तेल, नुनलगायतका दैनिक उपभोग्य सामग्री बाँडिएको प्राविधिक संघका अध्यक्ष लामाले बताए । समस्यामा परेका प्राविधिकहरूलाई एकचरण सहयोग गरिसकेको उनको भनाइ छ । प्राविधिक संघका अध्यक्ष लामाले आर्थिक वर्ष २०७८/७९ को बजेटमा फिल्म क्षेत्रका विभिन्न विषय समेटिए पनि प्राविधिकहरूलाई बचाउन कुनै खालको सम्बोधन नभएकोमा गुनासो पोखेका छन् ।
अहिलेको अवस्थामा प्राविधिकहरूको दैनिक जीवनयापनलाई सहज बनाउन आवश्यक रहेको बताउँदै उनले प्राविधिकहरूको उपचारका लागि छुट्टै अस्पतालको समेत माग गरेका छन् । उनी भन्छन्, ‘दुई चरणको कोरोना महामारीपछि प्राविधिकहरूको उपचारका लागि छुट्टै अस्पताल बनाउनु पर्ने आवश्यकता देखिएको छ । प्राविधिकहरूको उपचारका लागि कति अस्पतालमा ५० प्रतिशत छुट दिन भन्दै पहल गर्ने ? आफ्नै अस्पताल भयो भने प्राविधिकको उपचार गराउन त समस्या हुँदैन । अर्को बजेटमा ‘प्राविधिक अस्पताल’ बनाउन बजेट छुट्याउन माग गर्दछौँ ।’