जेठ २३, २०७८ आइतबार

विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले उपप्रधानमन्त्री राजेन्द्र महतोले देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताविरोधि अभिव्यक्ति दिएको भन्दै त्यसको भर्त्सना गरेका छन्। आइतबार भएको विभिन्न सात वटा विद्यार्थी संगठनको जुम बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले महतोको अभिव्यक्तिको स्पष्टिकरण दिनुपर्ने मागसमेत गरेको छ।

‘उपप्रधानमन्त्री महतोको अभिव्यक्तिले उनको व्यक्तिगत धारणा मात्रै जनाउँदैन, ओली सरकारको निरंकुश, स्वेच्छाचारी र विदेशमूखी प्रवृत्तिको उजागर गर्दछ। प्रधानमन्त्री केपी ओलीसँग महतोको अभिव्यक्तिबारेमा स्पष्टीकरण माग गर्दछौँ।’ यस्तै ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गर्ने सरकारको योजनाले चुरेक्षेत्र तस्कर र माफियाहरुबाट दोहन हुने उनीहरुको ठहर छ। उक्त योजना तत्काल खारेज गर्न पनि उनीहरुले माग गरेका छन्। साथै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको पनि विद्यार्थी संगठनहरुले विरोध गरेका छन्।

यस्तै झापाको बी एण्ड सी मेडिकल कलेजलाई अवैध रुपमा दिइएको सम्बन्धन खारेज गर्न पनि उनीहरुको माग छ।