जेठ २४, २०७८ सोमबार

कोही आएको थियो माया किन्न अमीर बनेर ।
बस् ! यही कुराले त पिरोलिरहन्छ पीर बनेर ।


जसको आवाज सुन्दा हिजो आनन्द आउँथ्यो
आज त्यही आवाज बिझ्दैछ मनमा तीर बनेर ।


म हरेक पल रोइरहन्छु, उसैलाई सम्झेर
ऊ मलाइ हेरी हाँसिरहन्छ भित्तामा तस्बिर बनेर ।
 

स्वतन्त्र भई उड्न मन छ, चरीजस्तै आकाशमा 
किन खुट्टा बाँध्न खोज्छौ तिमी जन्जिर बनेर ।


नबुझ्नेले छाडी गए अन्तिममा एक्लै भएँ
कोही त आउनुहोस् महोदय मेरो तक्दिर बनेर ।


झापाकी स्रष्टा सञ्जू निरौला 'सेजलु'को गजल हो यो । सेजलज्यूले जीवन र जगत्‌का विविध आयामहरूलाई समेटेर निकै राम्रा गजल लेख्नुहुन्छ । हाम्रो टिमको तर्फबाट वहाँको सफलताको कामना !