नवलपुर, १९ साउन (रासस) : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा नगर अस्पतालको १५ शय्या क्षमताको भवन निर्माणमा ढिलाइ भएको छ । सम्झौताअनुसार अस्पताल निर्माण गर्ने समय सकिएर म्याद थप गर्दा पनि कामले गति लिन सकेको छैन ।
विसं २०८० जेठ १३ गतेभित्र भवन निर्माण सम्पन्न गर्नेगरी काठमाडौँको ड्रागन कन्स्ट्रक्सन प्रालिले विसं २०७८ जेठ १४ मा ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयमा भवन निर्माण सम्पन्न नभएपछि आगामी फागुन १३ गतेसम्मका म्याद थप गरिएको नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले बताउनुभयो । उहाँका अनुसार हालसम्म २३ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । कोरोनालगायत विभिन्न कारण देखाउँदै म्याद थपका लागि माग गरेपछि नौ महिना समय थपिएको प्रवक्ता तिवारीले बताउनुभयो ।
भवन निर्माणका लागि गैँडाकोट छनौट भएपछि सङ्घीय सरकारले बजेट विनियोजन गरेको थियो । अत्याधुनिक १५ शय्या क्षमताको भवन निर्माणका लागि निर्माण पक्षसँग रू १२ करोड १५ लाख ७८ हजार सम्झौता भएको प्रवक्ता तिवारीले बताउनुभयो । उहाँका अनुसार सम्झौताअनुरुप तीन छुट्टाछुट्टै भवन निर्माण गर्नुपर्नेछ ।
तीनमध्ये एउटाको पहिलो तला ढलान भएको, एउटाको डिपिसी मात्रै गरिएको छ भने तेस्रो भवनको डिपिसीका लागि खाल्डो मात्रै खनिएको नगरपालिकाका पूर्वाधार शाखाप्रमुख इन्जिनियर निरजकुमार क्षेत्रीले जानकारी दिनुभयो । शव राख्ने भवनको काम सुरु गर्न बाँकी रहेको जानकारी दिँदै उहाँले काम समयमा नै सम्पादन नभएको सम्बन्धमा यसअघि नगरपालिकाले पत्र काटेको जानकारी दिनुभयो । नियमित काम गर्दा थपिएको समय सीमाभित्रै निर्माण सम्पन्न हुने उहाँको भनाइ थियो । वर्षायाममा ठूला ढलान कार्य प्रभावित हुने क्षेत्रीले बताउनुभयो ।
अस्पताल परिसरमा रहेको बुद्ध मूर्ति र गुम्बालाई स्थानान्तरण गर्न समय लागेकाले निर्माणमा ढिलाइ भएको निर्माण पक्षको दाबी छ । सम्झौता अवधिभित्र कार्य सम्पन्न नहुनाका १३ कारण पेस गरी निर्माण पक्षले म्याद थपको माग गरेको थियो ।
निर्माण कम्पनीका तर्फबाट अमृत भुर्तेलले कोभिडको प्रभाव, कार्यस्थलमा रहेको गुम्बा स्थानान्तरणमा ढिलाइ हुनु, माटो परीक्षणमा समस्या, पेस्की र नगद भुक्तानी समयमा नपाउनु, बजार महङ्गी, सामग्री अभाव, निर्वाचनको असरलगायत कारणले निर्माण प्रभावित भएको बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका सदस्य एवं गैँडाकोट–११ का वडाध्यक्ष गोविन्द सुवेदीले काठमाडौँबाट ठेकेदार झिकाई काम सुरु गर्न दबाब दिएपछि निर्माणले गति लिएको बताउनुभयो । “समयमा काम सुरु हुने अवस्था नदेखेपछि ठेक्का रद्द गरी अगाडि बढ्ने तयारी गरिरहेका थियौँ”, उहाँले भन्नुभयो, “त्यसपछि निर्माण पक्ष कार्यस्थलमा आएर रड झार्ने, खाल्डा खन्नेलगायत काम थालेको छ ।”