काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । सन्न्यासको घोषणा गर्दै मल्लले राष्ट्रको आशा र सपनाको प्रतीक बनेर मैदानमा उत्रिँदा इमान्दारिताका साथ शतप्रतिशत दिने प्रयास गरेको भन्दै समग्रमा आफू निकै सन्तुष्ट रहेको बताए ।
स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म खेल्ने क्रममा क्रिकेटले जीवन, युद्ध संकल्प र एकताको शक्तिबारे अमूल्य पाठ सिकाएको उनले बताए ।
आफूले क्रिकेटमा पनि कुनै समय कसैलाई रिप्लेस गरेर नै आएको भन्दै उनले अहिले अन्तर्रास्ट्रिय क्रिकेटको यात्रालाई विराम लगाउने र एउटा फरक यात्रा आरम्भ गर्ने निर्णय लिएको जिकिर गरे । सबैमाझ चिनाउन सफल भएको र मानप्रतिष्ठा दिएको खेलबाट विदा लिन सहज नभएपनि यो यात्राको नयाँ अध्याय भएको उनले बताए ।
केही समययता मल्ल नेपाली टोलीको प्लेइङ ११ बाट बाहिर रहेक थिए । आफ्नो सन्न्यासलाई यस विषयमा राखेर नहेर्न उनले आग्रह गरे ।
मल्लले नेपालका लागि खेलेको ३५ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा ८५६ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रिय खेलमा ८८३ रन बनाएका छन् । सन् २०१८ मा उनले एक दिवसीय अन्तर्राष्ट्रियमा नेदरल्याण्डविरुद्धको खेलमा डेब्यु गरेका थिए ।