काठमाडौँ– बलिउड अभिनेता शाहरुख खानको चलचित्र ‘जवान’ आगामी ७ सेप्टेम्बरमा रिलिज हुँदैछ । दर्शकहरू सो चलचित्रको प्रतीक्षामा छन् । यस चलचित्रमा शाहरुख फेरि एकपटक एक्सन अवतारका रुपमा दर्शकमाझ प्रस्तुत हुँदैछन् ।
शनिबार ‘जवान’को दोस्रो गीत ‘छलेया’ रिलिज भएको थियो । यसका साथै ‘जवान’को एक दृश्य सामाजिक सञ्जालमा लिक भएको छ । चलचित्रको एक क्लिप कसैले ट्विटरमा अपलोड गरेपछि शाहरुखको प्रोडक्सन हाउस रेड चिल्लीज इन्टरटेनमेन्टले यसविरुद्ध मुम्बई प्रहरीमा उजुरी दिएको छ । उजुरीमा कपीराइट अधिकारको उल्लंघन गरेको आरोप लगाइएको छ ।
जवानको छायांकन सेटमा कुनै पनि मोबाइल फोन वा रेकर्डिङ सामग्री प्रयोग गर्न निषेध गरिएको थियो । त्यसका बाबजुद पनि चलचित्रको क्लिप लिक भएर भाइरल भएपछि शाहरुख चिन्तित बनेका छन् ।
पाँचवटा ट्विटर एकाउन्टबाट यो क्लिप सेयर भएको छ । यस विषयमा प्रहरीले आईपीसीको सेक्सन ३७९ (चोरी) र सूचना प्रौद्योगिकी नियमको ४३ (बी) अनुसार मुद्दा दर्ता गरेको छ । यसबारे अरु अनुसन्धान अघि बढ्ने मुम्बई प्रहरीले जनाएको छ ।
शाहरुखको एक्सन अवतार रहेको चलचित्र ‘जवान’को ट्रेलर गत महिना रिलिज भएको थियो । एटलीले निर्देशन गरेको यो चलचित्रमा शाहरुखका साथै दक्षिण भारतीय सुपरस्टार नयनतारा र विजय सेतुपतिको शीर्ष भूमिका छ । चलचित्रमा सुनिल ग्रोवर, दीपिका पादुकोण, प्रियमणि र सान्या मल्होत्राले समेत अभिनय गरेका छन् । (स्रोतः एनआई)