जेठ २६, २०७८ बुधबार

अभिनेत्री करिश्मा मानन्धरले आफ्नी छोरी पनि पल शाहजस्तै मनकारी भएको हेर्ने इच्छा व्यक्त गरेकी छिन् । पलले कोरोनाका बेला गरेको कार्यको अभिनेत्री करिश्मा मानन्धरले प्रशंसा गर्दै आफ्नी छोरी पनि पलजस्तै बनून् भन्ने चाहना व्यक्त गरेकी छिन् ।

पल रिल र रियल दुवैको हिरो रहेको उनी बताउँछिन् । शनिवार प्राविधिकहरूलाई राहत बाँड्ने क्रममा उनले नयाँ पुस्तामा पल अरूभन्दा फरक लागेको बताइन् । उनी भन्छिन्, ‘म मेरो छोरीसँग कम्पियर गरेर भन्छु कि उनले पनि यस्तो गर्दिए हुन्थ्यो । पलले अरुको दुःख महशुस गरेको छ । त्यस्तो मन महान् हुन्छ ।’ अभिनेता पल शाह अभिनयसँगै सामाजिक कार्यमा पनि सक्रिय छन् । गत वर्ष लकडाउनको समयमा उनले फिल्म प्राविधिकका लागि ५ लाख बराबरको खाद्यान्न सहयोग गरेका थिए भने बाढी पहिरो पीडितलाई पनि राहत वितरण गरेका थिए । कोरोनाको दोस्रो लहर सुरु भएसँगै यतिबेला उनी कोरोनाका बिरामीका लागि निःशुल्क अक्सिजन जुटाउन दिन(रात नभनी खटिरहेका छन् ।
 
पलसँग दुईवटा म्यूजिक भिडियोमा काम गरिसकेकी करिश्माले उनी अभिनित फिल्म भने हेर्न पाएकी छैनन् । तर, भिडियोमा काम गर्ने क्रममा पललाई नजिकबाट चिन्न पाएको उनी बताउँछिन् । त्यस्तै, अभिनेता पल शाहले राजेश हमाल र करिश्मा मानन्धर आफ्नो मनपर्ने अभिनेता(अभिनेत्री रहेको र म्यूजिक भिडियोमा एकसाथ काम गर्न पाउँदा एकदमै खुसी भएको बताएका छन् ।
 
‘प्रायः फिल्ममा राजेश सर र करिश्मा म्यामको जोडी हुन्थ्यो । फिल्म ‘ढुकढुकी’ को ‘यो ढुकढुकीको चाल यस्तै हो’ गीतमा डान्सरहरूले राजेश हमाल सर र करिश्मा म्यामलाई तानेर छुट्याउँदा मलाई एकदमै नरमाइलो लागेको थियो,’ उनी भन्छन्, ‘बच्चैदेखि स्क्रिनमा हेरेको मान्छे सामुन्ने भेट्दा भगवान् नै भेटेजस्तो लाग्ने रहेछ ।’