साउन ३२, २०८० बिहिबार

म्याग्दी, ३२ साउन ः म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षपछि एक्स–रे सेवा सञ्चालन भएको छ ।

मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिने केन्द्रमा रहेको एक सय एमए क्षमताको सादा एक्स–रे मेसिन बिग्रिएपछि विगत १२ महिनादेखि सेवा सञ्चालन हुन सकेको थिएन । केन्द्रका निमित्त प्रमुख यमन नेपालीले बिग्रिएको एक्स–रे मेसिन मर्मत गरेर बुधबारदेखि सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो ।
“आर्थिक स्रोतको अभावका कारण एक्स–रे मेसिन सञ्चालन हुन सकेको थिएन”, उहाँले भन्नुभयो, “धेरै प्रयास गरेर बायोमेडिकल इञ्जिनियर बोलाएर मेसिन मर्मत गरी एक वर्षपछि बुधबार दुई जनालाई पहिलो पटक एक्स–रे सेवा दिएका छौँ ।”
 
 
पुरानैलाई मर्मत गरेर सेवा सञ्चालन गरेको नेपालीले बताउनुभयो । सो क्षेत्रका बासिन्दालाई एक्स–रे सेवाका लागि सदरमुकाम बेनी पुग्नुपर्ने समस्या हटेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक्स–रेको रिपोर्टका आधारमा बिरामीको समस्या पहिचान गर्न सहज भएको छ ।
लायन्स क्लब अफ म्याग्दी दरबाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक तीन सय २५ ले लायन्स क्लब अन्तर्राष्ट्रियको फाउण्डेशनको कोषबाट रु ४२ लाखमा पाँच सय एमए एक्स–रे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन खरिद गरेर उपलब्ध गराएको थियो ।
पाँच सय एमए क्षमताको एक्स–रे मेसिन सञ्चालन गर्न ७५ देखि ८० केभिए क्षमताको विद्युत्को स्टेपलाइजर आवश्यकपर्नेमा केन्द्रमा हाल ५० केभिए क्षमताको मात्र स्टेपलाइजर छ । बेनी अस्पतालमा रहेको तीन सय एमए क्षमताको एक्स–रे दरबाङ र दरबाङको एक्स–रे बेनी अस्पतालमा साटफेर गराउन दाता लायन्स क्लबलाई पत्राचार गरिएको छ ।
यसैगरी मालिका गाउँपालिकाले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच श्यया क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो ।
आधारभूत अस्पताल सञ्चालन गर्न निक साइमन इन्टिच्युटले एक जना चिकित्सक, एक जना रेडियोग्राफर र एक जना स्टाफ नर्सको जनशक्ति सहयोग गरेको छ । एक जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा छात्रवृत्तिमा अध्ययन गरेका थप एक जना चिकित्सक आउने भएका छन् ।
आधारभूत अस्पतालका लागि गाउँपालिकाले थप रु २४ लाख बजेट विनियोजन गरेको अध्यक्ष गर्बुजाले बताउनुभयो । हाल प्रयोगशाला, एक्स–रे, अल्ट्रासाउन्ड, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधि पसल सञ्चालन गरेको छ ।
भवन बनाइएकाले शव परीक्षणको काम पनि दरबाङमै गर्ने तयारी भएको छ । अहिले शव परीक्षण गर्न बेनी ल्याउनुपर्ने समस्या छ ।