भदौ १३, २०८० बुधबार

गलेश्वर, १३ भदौः म्याग्दीमा पछिल्ला दुई वर्षयता कृषि क्षेत्रमा युवाहरुको संलग्नता उत्साहाजनक रुपमा बढेको छ । कृषिमा युवाहरुको प्रवेशसँगै ग्रामीण क्षेत्रका खेतबारी र पाखो जमिनमा समेत कृषि प्रविधिको प्रयोग हुन थालेपछि यहाँका किसानहरु अर्ग्यानिक खेती विस्तारमा जुटेका छन् ।

धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारिका ग्रामीण खेतबारीमा जिल्लाको कृषकहरुले आग्र्यानिक खेती प्रणाली सुरु गरेका हुन् । विशेषगरी व्यावसायिक कृषिमा युवा सहभागिता बढ्दै गएपछि यहाँ कृषिले व्यावसायिक रुप लिनाका साथै कृषिमा प्रविधिको प्रयोग र आग्र्यानिक खेती विस्तारको क्रम बढ्दै जान थालेको हो ।

विगत दुई वर्षयता जिल्लामा आग्र्यानिक खेती सुरु भएको र यसले व्यापकता पाउँदै गएको यहाँका उपभोक्ताहरुले बताएका छन् । तीन वर्षअघि सम्म स्थानीय तरकारीको सट्टा आयातित तरकारी खोजी गर्ने यहाँका उपभोक्ताहरु अहिले भने खोजीखोजी स्थानीय उत्पादन खरिद गर्ने गरेका छन् ।

“अहिले सदरमुकाम बेनीका प्रायः सबै घरका भान्छामा स्थानीय उत्पादनका तरकारी पाक्ने गर्दछ”, बेनीबजारका व्यवसायी राधिका केसीले भन्नुभयो, “ग्राहकहरु स्थानीय उत्पादनको खोजीमा हुन्छन्, गाउँगाउँबाट आग्र्यानिक तरकारी बजारमा झर्न थालेपछि आयातित तरकारीको माग घटेको छ ।”

त्यसैगरी कृषकले पनि बजारमा आग्र्यानिक उत्पादनको माग बढ्दै गएपछि रासायनिक विषादीको प्रयोग गर्न छोडेका छन् । करिब ४० वर्षदेखि कृषि पेसामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ६८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो दुई वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग पर्नुभएको छ ।

घर नजिकैको १४ रोपनी खेत र बारीमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका कार्कीले दुई वर्षअघि सम्म कहिल्यै पनि अग्र्यानिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाउनुभएको थिएन । “म विगत ४० वर्षदेखि तरकारी खेतीमा छु, मेरो जीवनको उर्वर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु,” कार्कीले भन्नुभयो, “तर पछिल्ला दुई वर्षयता जसरी मैले फलाएको तरकारीको बिक्री भयो, त्यसरी यसअघि भएको थिएन ।”

युवाहरु नै खेतीपातीको काममा लागेपछि म्याग्दीको ग्रामीण जीवन र कृषि प्रणालीमा नयाँपन थपिएको स्थानीयवासीको भनाइ छ । ‘लाहुरेहरुको जिल्ला’ भनेर परिचय बनाएको म्याग्दीमा पछिल्लो समय विदेश जाने कम र विदेशबाट फर्किएर आफ्नै गाउँमा कृषिमा लगानी गरी व्यावसायिक बन्ने युवाहरुको सङ्ख्या बढ्दै जान थालेको छ ।

खबराका कृषक शोभित शर्मा, डडुवाका भीमबहादुर भण्डारी, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदी, अर्मनका टीकालाल सापकोटा, रत्नेचौरका भविलाल किसानलगायतका जिल्लाका २४ भन्दा बढी कृषकले पछिल्लो समय प्राङ्गारिक तरकारी खेतीको सुरुआत गरेका छन् ।