जेठ २९, २०७८ शनिबार

कोभिड–१९ महामारीले हाम्रो अर्थ–सामाजिक अवस्थालाई ठूलो नोक्सानी पुर्‍याएको छ । यस्तामा हामीले यो सोच्न आवश्यक छ कि हामी सबैका लागि स्वच्छ र सफा तरिकाले पानीको उपलब्धता कति महत्वपूर्ण होला ! यस विनाशकारी महामारीबाट बच्ने एउटा मात्र अचुक तरिका यो छ कि हामी लगातार आफ्ना हातहरूलाई प्रत्येकपटक कम्तीमा २० सेकेण्डसम्म धोऔं । अर्थात् सफा पानी रोगहरूको रोकथामका लागि दुनियाको सबैभन्दा महत्वपूर्ण उपाय हो । एवम् रीतले वैश्विक स्तरमा चिकित्साकर्मीहरू यही सचेतनामूलक सूचना प्रवाह गरिरहेका छन् । यस्तोमा कोरोना भाइरस जस्तो वैश्विक दुश्मनलाई हराउनमा पानीको उपलब्धता एउटा महत्वपूर्ण कदम हुनेछ ।

हामीमध्ये अधिकांश मानिसहरू यस कुराबाट निश्चिन्त हुन सक्दछन् कि हामी आफ्नो धाराबाट पानी लिन्छौ एवम् त्यो सफा र स्वच्छ हुन्छ । फेरि पनि केही मानिसहरू यस्ता पनि छन्- जसले यो सोच्न सक्दछन् कि यदि आफ्नै धाराको पानी सफा नभए के भो त, हामीले बोतलबन्द पानी छाने त भइगयो नि ! तर हामी दुई कुरा बिर्सिन्छौं; पहिलो जुन पानी हामी खरिद गर्दछौं त्यो पानी त प्राकृतिक स्रोतहरूबाट नै आउँछ । अर्थात्, ती भू–जल हुन्छन् एवम् खनिजहरूको मात्रा पनि त्यसमा बढी हुन्छ । अर्कोकुरा, हामी यो सोचेर बोतलबन्द पानी किन्दछौं कि यो सुरक्षित छ र पानीलाई ब्वाइलेटका रूपमा उत्सर्जित गर्दछौं । अर्थात्, जतिधेरै पानी हामी उपयोग गर्दछौं त्यति नै फोहर पानी हामी उत्पन्न गराउँदछौं । यदि यो ढललाई उपचार गरिएन भने यसले प्रदूषण एवं जल सङ्कटको समस्या उत्पन्न गराउनेछ । जुन सामान्यत: हाम्रा शहरी क्षेत्रका नदी प्रणालीमा देखिँदै आएको छ । वागमती सफाई अभियान चलाउनुपर्ने कारण पनि यसैले गर्दा हो । किनभने हामी आफैंले त्यसमा ढल मिसाएका थियौं । अर्थात् हामी एकपटक फेरि फोहोर पानीको युगमा फर्किन लागेका त छैनौं ?

जल सङ्कट एउटा जनस्वास्थ्य सङ्कट पनि हो । कोभिड–१९ को उदाहरणलाई हेरौं त ! २० सेकेण्ड हात धोएर भाइरस मार्ने सल्लाह दिइँदै छ । यसको अर्थ हुनेछ- प्रत्येक पटक हात धुदा १.५ देखि २ लिटर पानी खर्च गर्नु । यसरी पटक–पटक धुनुको मतलब हामीलाई प्रति दिन प्रति व्यक्ति १५–२० लिटर पानी आवश्यक पर्नेछ । हाम्रा सामु यो चुनौती छ कि विकासशील देशहरूका ठूला जनसमुदाय समक्ष स्वच्छ पानीको सहज आपूर्ति व्यवस्था छैन । अनि ती समुदाय यो प्रलयकारी भाइरसबाट कसरी मुक्त रहलान् ?

यस प्रलयकारी कोभिड–१९ महामारीले हामीलाई अर्ती दिइराखेको छ कि हामी यस श्रृङ्खलामा त्यति नै कमजोर छौं जति दुनियाँमा निरीह, असहाय, गरीब र सीमान्तकृत समुदाय हुन्छन् । त्यसैले यो सुनिश्चित गर्नुपर्ने आवश्यकता छ कि प्रत्येक नागरिकसँग सार्वजनिक स्वास्थ्यसम्म पहुँच होस्, ता कि कोही पनि यस प्रलयकारी कोभिड–१९ को शिकार नबनून् । पानी पनि यसैसँग सरोकार राख्दछ कि जनसमुदायसँग सफा पानीको पहुँच छैन भने यस महामारी फैलिनबाट रोक्ने क्षमता कहाँबाट पाउन त ? हाम्रो आफ्नो परिवेशमा कुरा गरौँ- मेलम्चीको पानी ल्याए पनि पानी जनसमुदायको धारामा पुर्‍याउनु पर्नेमा बाटा–बाटामा पानी आपूर्ति गर्ने पाइप फुटेर बरु सडक जलमग्न भएको रोमान्चक तीतो यथार्थ छ भने सरोकारवाला जिम्मेवार निकाय जस लिने आत्मरतीमा नै अल्झेको अवस्था छ ।

शुभ सङ्केत त यो छ कि हामीलाई थाहा छ, के गर्नु पर्नेछ । हामी सबैले जानेकै कुरा हो कि पानीलाई पुनः उपयोग गर्न सकिन्छ । हामी यो सुनिश्चित गर्न सक्छौं कि वर्षाको पानीको प्रत्येक थोपा सङ्कलन गरौं, स्थानीय जडभण्डारण प्रणालीहरूको निर्माण गरौं । कम पानी चाहिने बालीनाली लगाऔं र फोहोर पानीको प्रत्येक थोपालाई पुन:चक्रण गरेर पुन: प्रयोग गरौं । वर्तमानको हाम्रो शहरी एवम् ग्रामीण खानेपानी वितरण प्रणाली यति महँगो छ कि केही घरधूरीसम्म मात्र आपूर्ति गर्न सकिएको छ । धेरै टाढाबाट पानी ल्याउनका लागि जति लामो पाइपलाइन होला आपूर्तिको लागत त्यति नै बढी लाग्ला अनि समय पनि । हाम्रो आफ्नो परिवेशमा मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीको घर र धारासम्म पुग्न झण्डै साढे दुई दशक लागेको दृष्टान्त ताजै छ । हाम्रा शहरहरूमा अझै पनि ठूलो सङ्ख्यामा जनसमुदायहरू पाइपबाट खानेपानी आपूर्तिको सुविधाबाट बञ्चित छन्; खासगरी बागमती, विष्णुमती, मनहरा खोला किनारमा वैध–अवैध रूपले बसोबास गरेका सुकुम्बासी बस्तीहरूमा । तिनीहरू या त ट्याङ्करहरूबाट पानी लिन्छन् वा पिउनका लागि एवम् अन्य घरेलु प्रयोजनका लागि वा अन्य फोहर एवम् अविश्वसनीय जलस्रोतहरूमा निर्भर हुन्छन् जसबाट तिनीहरूको स्वास्थ्यमा नराम्रो असर पार्दछ । खानेपानी आपूर्तिको लागत जति बढी हुनेछ पानीलाई ढलबाट फिर्ता ल्याई त्यसलाई उपचार गर्ने खर्च पनि त्यति नै बढ्नेछ ।

ज्यादा पानी आपूर्ति एवम् ज्यादा ढल उपचार प्लान्ट स्थापना एवम् सञ्चालनका लागि योजना बनाउनु हाम्रा लागि पर्याप्त नहुने रहेछ । मेलम्ची खानेपानी आयोजनाको तीतो अनुभव हाम्रा अगाडि छँदैछ, अन्य बारे चर्चा नै किन गर्नुपर्‍यो र ! हामीले हाम्रा खानेपानी आयोजना सञ्चालन गर्नेबारे पुनर्डिजाइन गर्नुपर्ने अवश्यकता पो देखिएको छ । जसले गर्दा हामी स्थानीय जलसंसाधन प्रणालीहरूमा लगानी गरेर पाइपलाइनको लम्बाइमा कटौती गर्न सक्षम होऔं । हामीले पानीको कम उपयोग गरेर मागलाई पुनः संरचना गर्नु पर्नेछ, जसलेगर्दा खेर जान कम होस् । हामीले हाम्रा ढल प्रणालीहरूलाई पुनःसंरचित गर्नुपर्ने आवश्यकता देखिन्छ । सबै कुराको चुरो यतिमात्र हो कि स्वच्छ सफा पानी सबैलाई सस्तो एवम् सुलभ हुनुपर्नेछ, होइनभने यो कसैका लागि पनि लामो समयसम्म उपलब्ध हुने छैन । डा. केदार कार्की, सेवा निवृत्त वरिष्ठ पशुचिकित्सक हुनुहुन्छ ।