भदौ २२, २०८० शुक्रबार

काठमाडौँ, २२ भदौ : चेपाङ समुदायले मात्र मनाउने उनीहरुको जातीय पर्व हो छोनाम अर्थात् न्वागी । नेपालमा अति सीमान्तकृत समुदाय र जनजातिमा पर्छ चेपाङ । सरकारले सूचीकृत गरेको र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सूचीका ५९ आदिवासी जनजातिमध्ये एक हुन् चेपाङ । पछिल्लो समय मकवानपुर, चितवन, धादिङ, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौँ, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रुपन्देही, दाङ, बाँके र बर्दियासहित २६ जिल्लामा चेपाङ जातिको बसोबास विस्तार भएको छ । ६० को दशकसम्म चेपाङ समुदायको बसोबास हुने जिल्ला भनेर मकवानपुर, चितवन, धादिङ, गोरखा मात्र थियो । चेपाङ जातिलाई प्रकृतिपूजक जातिका रुपमा लिने गरिन्छ । केही चेपाङले २०७८ को जनगणनामा धर्ममा प्रकृति पनि उल्लेख गरेका छन् । चेपाङ समुदायमा जन्मदेखि मृत्युसम्मका संस्कारमा भूमि जोडिएकाले उनीहरुको प्रकृति प्रेम अथाह छ । 

चेपाङ समुदायको उत्थान

    विसं २०३४ मा तत्कालीन राजा वीरेन्द्र शाह हेटौँडा आएका थिए । त्यसबखत चेपाङ समुदायको रहनसहन र जीवनशैैली देखेर शाहले नै चेपाङ समुदायलाई ‘प्रजा’ सम्बोधन गरेका थिए । खोरिया खन्ने, पाखो बारीमा छाप्रो बनाएर बस्ने, निम्न आयस्रोत भएका गरिबीको रेखामुनि पिल्सिएका समुदायलाई राजा शाहले आफ्नै जनता मानेर ‘प्रजा’ भनेपछि उनीहरुले थर ‘प्रजा’ लेख्न थाले । 

    त्यसको लगत्तै मकवानपुरलगायत चेपाङ बसोबास रहेका जिल्लामा २०३४ सालदेखि नै जिल्ला विकास समिति मातहत ‘प्रजा विकास कार्यक्रम’ लागू भएको थियो । विपन्न चेपाङ समुदायलाई आवास बनाएर बस्ती बसाउने, काम गर्न सीप सिकाउने, बालबच्चा बढाउने र शिक्षित बनाउने अभियान प्रजा विकास कार्यक्रममार्फत भएका उपलब्धि हुन् । एकातिर भूमिहीन, अर्कातिर भएको थोरै भूमिको पनि स्वामित्वविहीन र स्वामित्वका लागि नागरिकताविहीन अवस्था ५० को दशकसम्म चेपाङ समुदायको मूल मुद्दा थियो ।  

चेपाङ नै पहिचान

    राजाले ‘प्रजा’ बनाए पनि पछि केही चेपाङ अगुवा तथा अधिकारकर्मीले जातीय पहिचान समाप्त हुने भन्दै प्रजालाई ‘चेपाङ’ नै घोषणा गरेर अघि बढे । पचासको दशकपछि चेपाङ समुदायमा बढेको चेतनास्तरले उनीहरुको जातीय पहिचान चेपाङ नै हो भन्ने भयो र प्रजा थरबाट नागरिकता बनाउने अभियान रोकेर केहीले नागरिकतामा चेपाङ नै लेख्न थाले । उनीहरुले बोल्ने भाषालाई चेपाङ भाषा र उनीहरुको जाति चेपाङ नै लेखिन थालियो । जातीय पहिचानका लागि नेपाल चेपाङ सङ्घ स्थापना भयो । उनीहरुको भेषभूषा र रहनसहन पनि चेपाङ संस्कृतिले परिचित हुन थाल्यो । प्रजा विकास कार्यक्रमले ल्याएको परिवर्तन पछि फेरि चेपाङ भाषा, जाति, संस्कृति र परम्परा बन्यो । अहिले उनीहरु आफूलाई चेपाङ समुदायकै रुपमा चिनाउन चाहन्छन् । आफ्नै लिपि नभए पनि भोट बर्मेली भाषासँग मिल्दोजुल्दो चेपाङ समुदायको आफ्नै मातृभाषा छ । आफ्नै लिपि चैँ छैन ।

प्रकृति प्रेम

    चेपाङ समुदायको जनजीवन जङ्गल र जमिनसँग जोडिएको इतिहास छ । वनजङ्गल नजिक, भिरालो परेको जमिन, खोलाखोल्सी चेपाङ समुदायको बस्ती रहने गर्दथ्यो । उनीहरु ठूलो रुख, ठूलो ढुङ्गालाई पूजा गर्थे । खोलानाला, जङ्गल, आगोलाई पनि उनीहरु उत्तिकै श्रद्धा गर्छन् । अहिले पनि चेपाङ समुदाय चिउरीसँग जोडिएका छन् । उनीहरुको विवाहमा पनि छोरीलाई चिउरी दाइजो दिने चलन थियो । जङ्गली कन्दमूल गिठ्ठा, भ्याकुरलगायतका फलफूल पनि चेपाङ समुदायको रोजाइको खाना थियो । 

    एक अध्ययनले पछिल्लो समय चेपाङ समुदायका बालबच्चा होचा हुनुमा अत्यधिक गिठ्ठाको परिकार भोजन पनि कारण भनिएको थियो । गिठ्ठामा हुने फाइबरका कारण उचाइलाई असर पर्ने भएकाले चेपाङ समुदायका बालबच्चा केही होचो भएको भनेर अध्ययन सार्वजनिक गरिएको थियो । तर प्रकृतिमै रमाउने, प्राकृतिक फलफूलमा पनि जीवन गुजार्न सक्ने समुदाय आज विकासको मूलधारमा आएका छन् । उनीहरु शिक्षित भएका छन् । अरु जाति सरह अग्राधिकारका लागि लडिरहेका छन् । यो उनीहरुमा आएको ठूलो परिवर्तन हो । राजनीतिमा पनि चेपाङ समुदायको सक्रियता वृद्धि भएको छ । प्रदेश सरकारमा मन्त्री, सङ्घीय, प्रदेश सांसद हुँदै संविधानसभा सदस्यसमेत चेपाङ समुदायबाट भइसकेका छन् । 

चेपाङको पर्व

    चेपाङ समुदायले मनाउँदै आएको उनीहरुको प्रमुख र परम्परागत पर्व हो छोनाम अर्थात् न्वागी । चेपाङ समुदायको रहनसहन, संस्कृति, अन्य जातजातिसँगको साइनो, विहेबारीका कारणले यस चाडलाई विभिन्न स्थानमा फरक ढङ्गले मनाइने गरिए पनि प्रमुख पर्व न्वागी नै हो । चेपाङ समुदायले पर्वलाई तीज अघि मनाउनु उचित हुने बताएका छन् । उनीहरुको २२ नाले वंशावली छ । त्यसैले पछिल्लो समय भदौ २२ गतेलाई उनीहरुले आफ्नो राष्ट्रिय पर्वका रुपमा मनाउने गरेका छन् । 

    यसपटक बागमती प्रदेश सरकारले भदौ २२ गते न्वागीका अवसरमा प्रदेशका धादिङ, चितवन र मकवानपुरमा सार्वजनिक बिदा दिएको छ । चेपाङ भाषाकै नाममा पालिकाको नाम राखिएको मकवानपुरको राक्सिराङ गाउँपालिकाले त दुई दिन सार्वजनिक बिदा दिएको छ । भदौ २१ र २२ गते राक्सिराङ गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । चेपाङ भाषामा रोक्साइ भनेको खुर्सानी हो र राङ भनेको बारी हो । रोक्साइराङ नै अपभ्रंश भएर पछि राक्सिराङ नाम रहन गयो भन्ने किम्बदन्ती छ । राक्सिराङ पहिला चेपाङ बाहुल्य गाउँ विकास समिति हो । पछि विभिन्न साविकका गाविसहरु जोडिएर राक्सिराङ गाउँपालिका भएको हो । 

के के गरिन्छ ?

    न्वागीमा खासगरी चेपाङ समुदाय नयाँ खाद्यान्न तथा फलफूल भित्र्याएपछि पहिला पितृलाई चढाउनु पर्छ भन्ने मान्यता राख्छन् । नयाँ अन्नबाली पितृलाई नचढाई खाए रोगव्याधको सिकार हुने, परिवारका सदस्य बिरामी हुने विश्वास राख्छन् । त्यसैले न्वागी मनाएर नयाँ फलफूल, अन्नबाली पितृलाई चढाउँछन् । उनीहरुले पितृलाई विधिपूर्वक पूजाआजा गर्दै फलफूल र अन्नबाली चढाएपछि आफूहरु खान्छन् । रातभर पितृलाई बोलाएर पूजापाठ गरेर चढाउने, चेपाङ जातिले प्रयोग गर्ने आफूले खाने पर्व नै न्वागी पर्व हो । पाखोबारीमा फल्ने धान प्रजातिको घैया झाँक्रीले शिरमा राखिदिने चलन छ । यसो हुँदा नयाँ अन्नबालीमा पितृको आशीर्वाद हुन्छ र सन्तान बिरामी पर्दैनन्, कुनै दुःख हुँदैन भन्ने मान्यता छ ।
 
    चेपाङ समुदायको झाँक्री, पण्डितलाई ‘पान्दे’ भन्ने चलन छ । उनीहरु चोखोनितो गरेर चेपाङ समुदायले प्रयोग गर्ने एकपाखे ढ्याङ्ग्रो फलाक्छन् । पितृहरु बोलाउने धार्मिक मान्यता छ । वर्षभर सन्तानलाई केही नहोस्, रोगब्याध हटोस् भन्ने भनेर नै पव मनाउने र यो वर्ष सुखसँग सन्तानले जीवन काटोस् भनेर पितृको आशिर्वादका लागि न्वागी मान्ने गरिन्छ । न्वागीमा बारीमा उत्पादन भएका अन्नबाली, तरकारी प्रजातिका घिरौँला, चिचिन्डो, अदुवा, केरा, पिंडालु, निबुवा र घैया धान (सुख्खा ठाउँमा लगाएर भदौमा पाक्ने एक किसिमको धान) पनि चढाइन्छ । 

    रातभर झाँक्रीले तन्त्रमन्त्र जपेर पितृलाई चढाउने कार्य हुन्छ । युवा पुस्ता राति विभिन्न दोहोरी गीत गाएर, नाचगान गरेर रमाइलो पनि गर्दछन् । पर्वमा टाढा गएका सन्तानहरु भेटघाट हुने गर्छ । बिहानीपख झाँक्रीले पूजा विसर्जन गर्दै चेपाङ जातिका देवता बोलाएर आयु भएकालाई राम्रोसँग बाँच्न देउ र आयु कम भएकालाई आयु बढाइदेउ भन्दै घरका सदस्यलाई घैया चामलको अक्षता (टिका) लगाइदिने यो पर्वको प्रमुख प्रचलन हो । न्वागीको टीकापछि घरमा सबै इष्टमित्र, कुटुम्ब बोलाएर भोजभत्तेर हुने गर्दछ ।
 
च्याङ्लीमा न्वागी पर्व

    यो वर्ष चेपाङ समुदायले धादिङको गजुरी गाउँपालिका–५ च्याङ्लीमा सामूहिक रुपमा न्वागी पर्व मनाउने तयारी गरेका छन् । मकवानपुर, धादिङ, चितवन, गोर्खा, लमजुङलगायतका चेपाङ बसोबास भएका जिल्लाका प्रतिनिधि चेपाङ समुदाय च्याङ्लीमा भेला भएर पर्व मनाउने तयारीमा छन् । चेपाङ समुदायको भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण अभियानमा पर्व मनाउने गरिएको छ । विस्तारै यस पर्वलाई प्रदेश सरकारले पनि सहअस्तित्व स्वीकार्दै मान्यता दिन थालेको छ । यसलाई अधिकारको लडाइँसँगै चेपाङ सभ्यताको संरक्षणको मुद्दाको रुपमा पनि लिन थालिएको छ । बागमती प्रदेशबाहेक अन्यत्र पनि छरपष्ट रुपमा रहेका चेपाङहरुले आफ्नो धर्म परम्पराअनुसार भदौ २२ गते न्वागी पर्व मनाउने गर्दछन् ।