नयाँदिल्ली, २२ भदौ: भोलि शनिबार र पर्सी आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा चीन र रुसका राष्ट्रपतिको अनुपस्थितिले केही फरक नपार्ने टिप्पणी एक जना पश्चिमा कूटनीतिकज्ञले गरेका छन् ।
भारतका लागि जर्मनीका राजदूत फिलिप एकरम्यानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङको जी २० शिखर सम्मेलनमा हुने अनुपस्थितिले कुनै फरक नपर्ने बताएका हुन् ।
एएनआईसँगको अन्तर्वार्तामा राजदूत एकरम्यानले राष्ट्रपति पुटिन अघिल्लो शिखर सम्मेलनमा सहभागी नभकाले यसपटकको उहाँको अनुपस्थितिलाई अचम्म मान्नुपर्ने केही कारण नभएको बताउनुभयो । “चिनियाँ राष्ट्रपति सीको अनुपस्थितिले भने हामी अलिकति विस्मित भयौं तर उहाँको प्रतिनिधित्व चिनियाँ प्रधानमन्त्रीले गर्ने भएपछि यसले खासै फरक पार्दैैन,” चिनियाँ धारणा प्रधानमन्त्रीबाट प्रस्तुत हुने उल्लेख गर्दै उहाँले भन्नुभयो ।