भदौ २६, २०८० मंगलबार

वालिङ (स्याङ्जा), २६ भदौ : स्याङ्जाका एक समाजसेवीले क्यान्सरपीडित विपन्न परिवारको उपचारमा सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गर्नुभएको छ ।
    आँधीखोला गाउँपालिका–३ का कृष्णप्रसाद शास्त्री पौडेलले  परिवारजनको स्मृतिमा रु आठ लाखको अक्षयकोष स्थापना गर्नुभएको हो । उहाँले अक्षयकोष स्थापना गर्नका लागि उक्त रकम गाउँपालिकालाई हस्तान्तरण गर्नुभयो । पौडेलले आफ्ना  बुबा स्व टीकाराम पौडेल, आमा स्व हरिकला पौडेल र धर्मपत्नी स्व लीलादेवी पौडेलको स्मृतिमा ‘हरिटिका लीला स्वास्थ्य उपचार अक्षयकोष’ स्थापना गर्नुभएको हो ।

    आँधीखोला गाउँपालिका मातहतको सेतीदोभान आधारभूत अस्पतालमा स्थापना भएको अक्षयकोष गाउँपालिकामार्फत सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो । “गाउँपालिकाले कार्यविधि बनाइसकेकाले सोही कार्यविधिमा टेकेर पहिलो चरणमा क्यान्सर पीडित विपन्न नागरिकलाई सहयोग गर्छौं”, उहाँले भन्नुभयो ।