भदौ २६, २०८० मंगलबार

गण्डकी, २६ भदौ (रासस) : पोखरामा बुधबारदेखि पाँचौँ संस्करणको विद्यालय नाटक महोत्सव सुरु हुँदैछ । आगामी असोज १२ गतेसम्म चल्ने उक्त महोत्सवको तयारी पूरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ । 

महोत्सवमा पोखरा महानगरपालिकाभित्रका विद्यालयका १४ र काठमाडौँको एक अतिथि नाटक गरी कुल १५ नाटक मञ्चन गरिने थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो । महोत्सवको बुधबार दिउँसो शिक्षासेवी जर्ज जोनले उद्घाटन गर्नुहुने जनाइएको छ । 

महोत्सवको पहिलो दिन पोखराको माटेपानीस्थित हिल पोइन्ट माविको नाटक ‘शिलान्यास’ मञ्चन हुनेछ । लेखक भीमनिधि तिवारीले लेख्नुभएको सो नाटकको निर्देशन रमेश तिमिल्सिनाले गर्नुभएको छ । सबै नाटक दिउँसो १ बजेदेखि गन्धर्व नाटकघरमा मञ्चन हुनेछन् । 

पोखरा प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र राइट फर चिल्ड्रेनसँगको सहकार्यमा महोत्सव आयोजना गरिएको अध्यक्ष परिवर्तनले बताउनुभयो । महोत्सवको आदर्श वाक्य ‘शिक्षण विधिको रूपमा विद्यालयमा नाटक’ रहेको छ । रु एक हजारमा सबै नाटक हेर्न सकिने गरी दर्शकलाई टिकको प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।