भदौ २८, २०८० बिहिबार

पाकिस्तानका प्रथम सिख पत्रकार तथा प्रस्तोता हरमीत सिंहलाई हालै सार्वजनिक टिभीले जागिरबाट बर्खास्त गरेको छ । उहाँलाई बाँच्नका लागि नै उच्च जोखिम रहेको आरोप लगाइएको छ । 

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) की नेतृ तथा पूर्वमन्त्री शाजिया अट्टा मारीले राष्ट्रिय जवाफदेहिता ब्युरो (एनएबी) ले छापा मारी उहाँको साथबाट ९७ अर्ब पाकिस्तानी रुपैयाँ बरामद भएको भनी गलत समाचार फैलाएको आरोप लगाएपछि हरमीतलाई बर्खास्त गरिएको थियो ।
 
पाकिस्तानको पहिलो सिख पत्रकारका रूपमा आफ्नो पहिचान बनाएका हरमीत सिंहका अनुसार गत हप्ता उहाँले आफ्नो एक्स (पूर्व ट्वीटर) ह्यान्डलमा एनएबीले शाजिया अट्टा मारीको घरमा छापा मारेको र उहाँको साथबाट ९७ अर्ब पाकिस्तानी रुपैयाँ बरामद गरेको एउटा समाचार सार्वजनिक गर्नुभएको थियो । उक्त समाचार झुट्टो भएको थाहा पाएपछि पेजबाट समाचार हटाएर सम्बन्धित व्यक्तिसँग माफि माग्नुभएको थियो ।

हरमीत सिंह नामक युट्युब च्यानल चलाउने सिंहले उक्त समाचार फेक भएको थाहा पाएपछि ट्वीट डिलिट गरेर शाजिया मारीसँग आफ्नो गल्ती स्वीकार गर्दै लिखित माफी मागेको बताउनुभएको छ ।

शाजियाले उहाँविरूद्ध मानहानिको मुद्दामा राजनीतिक शक्तिको दुरूपयोग गर्दै १० अर्बको क्षतिपूर्तिको माग गरी औपचारिक सूचनामा जारी गर्नुभएको थियो । उहाँलार्ई जागिरबाट बर्खास्त गर्न टिभीलाई निर्देशन दिँदै हरमीतलाई नहटाए सबै सरकारी विज्ञापन रोकिने र च्यानलको लाइसेन्स रद्द गर्ने चेतावनी दिइएको थियो ।