सिरहा, ४ असोज : सिरहाको लहानस्थित प्रादेशिक अस्पतालको सेवा प्रवाह र प्रशासनिक सुधार ल्याउन भन्दै अस्पताल सुधार सङ्घर्ष समिति गठन भएको छ ।
बिरामीको उपचारमा लापरवाहीदेखि करार सेवाका कर्मचारी भर्ना, उपकरण खरिदमा अनियमितता र सवारीसाधनको दुरुपयोग बढेको भन्दै स्थानीय सत्यनारायण यादवको संयोजकत्वमा विभिन्न पेसा व्यवसायमा संलग्न युवा आबद्ध रहेको २१ सदस्यीय अस्पताल सुधार सङ्घर्ष समिति गठन गरिएको हो ।
सङ्घर्ष समितिले गत २०७९ साउन र चैतमा सङ्घीय सरकारको चार र प्रदेश सरकारको २५ गरी २९ वटा सिटमा करार सेवाका कर्मचारी भर्ना गर्दा अनियमिमता भएको, अस्पतालमा ल्याब हुँदाहुँदै बिरामीले बाहिरबाट ल्याब जाँच गराउनुपर्ने, प्रसूति गराउन आउने महिलालाई त्रास देखाउँदै निजी स्वास्थ्य संस्थामा पठाएर कमिसन खाने गरेको पाइएको आरोप लगाएको छ ।
“अस्पताल व्यवस्थापन लथालिङ्ग रहेको अवस्था छ । विपन्न आर्थिक अवस्थाका महिला प्रसूति गराउन आउँदा अप्ठ्यारो अवस्था सिर्जना हुनसक्छ भन्दै त्रास देखाएर निजीमा जान बाध्य पार्ने गरिएको जनगुनासो छ”, संयोजक यादवले भन्नुभयो, “डायलायसिस मेसिन र अक्सिजन प्लान्ट कैयौँ महिनादेखि बन्द छ । बिरामीले सस्तो र गुणस्तरीय उपचार सेवाबाट बञ्चित हुनु नपरोस् भनी सुधारका लागि प्रयास गरिएको हो ।”
समितिले दाता परिवारबाट अस्पतालले चर्चेको एक बिघा १५ कट्ठा १० धुर जग्गा अस्पतालको नाममा रजिस्ट्रेसन र प्रदेश सरकारले फेरेको अस्पतालको नाम साविककै कायम राख्न पनि प्रयास गर्ने संयोजक यादवले बताउनुभयो ।
अस्पताल सरकारी, जग्गा दाताको नाममा
आफ्नो परिवारको दिवङ्गत सदस्यको स्मृतिमा लहानका व्यापारिक घराना मुरारका र शारडा परिवारले सिराहा, सप्तरीको पश्चिमी तथा दक्षिणी भेग र उदयपुरको दक्षिणी भेगका बिरामीलाई लक्षित गरी जग्गासहित विसं २०३५ मा भवन निर्माण गरी तत्कालीन श्री ५ को सरकारलाई हस्तान्तरण गरेको थियो । त्यतिबेलादेखि नै रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालको नाममा सञ्चालन हुँदै आएको अस्पताल १ पुस २०७८ को प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयबाट नाम परिवर्तन गरी प्रादेशिक अस्पताल नामकरण गरेपछि दाता परिवार रुष्ट बन्दै आएको छ ।
अस्पतालको नाम फेरिएपछि दाताकै नाममा रहेको एक बिघा १५ कट्ठा १० धुर जग्गा अस्पतालको नाममा रजिस्ट्रेसन नहुँदा अस्पतालले सेवा विस्तार गर्न नसकेको अस्पताल प्रशासनले गुनासो गर्दै आएको छ । यता जग्गादाताले भने अस्पतालको नाम पुरानै कायम गरी मुरारका र शारडा परिवारको नाम र पहिचान हुनुपर्ने माग गर्दै आएको छ ।
भवनसहित कर्मचारी, सेवा सुविधा सरकारी हुँदाहुँदै जग्गा व्यक्तिको नाममा हुँदा विगत ३९ वर्षदेखि अस्पतालमा स्वीकृत १५ शय्या भए पनि अस्पताल व्यवस्थापन समिति र प्रशासनले ४७ शय्या थप गरेर ६२ शय्या सञ्चालन गर्दै आएको छ ।