टोरन्टो, ५ असोज: भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण गुप्तचरहरूबाटै प्राप्त भएका क्यानडाका एक जना अधिकारीले बताएका छन् । भारतको बाह्य खुफिया संस्थाका कर्मचारीमाथि निरन्तर गरिएको गुप्तचरीबाट उनीहरूको पोल खुलेको उनले एशोशिएटेड प्रेसलाई बताएका छन् ।
क्यानडामा रहेका भारतीय कूटनीतिज्ञ र खुफिया एजेन्सीका अधिकारीको संलग्नतामा ४५ वर्षीय पृथकतावादी नेता हरदिपसिंह निज्जरको हत्या भएको सूचना अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यनाडा संलग्न खुफिया समूह ‘फाइभ आइज्’ले उपलव्ध गराएको नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए । उनले हत्याको सूचना कुन देशको जासुसी संस्थाबाट प्राप्त भएको हो भन्नेबारेमा भने केही उल्लेख गरेनन् ।