असोज ८, २०८० सोमबार

झापा, ८ असोज : मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीय हर्षित भएका छन् । पुल बनपछि बर्षाकाे समयमा आफ्नै वडा कार्यालय पुग्न पाँच किलोमिटर घुमेर जानुपर्ने बाध्यताबाट मुक्त हुन पाएपछि उनीहरू हर्षित भएका हुन् । 

    वडा नम्बर १४ स्थित पत्रेसिंह बारीका करिब पाँच सय घर परिवारलाई खोलाका कारण दुहागढीमा रहेको विद्यालय तथा  वडा कार्यालय पुग्न वडा नंं १० को धुलाबारी हुँदै घुमेर जानुपर्ने बाध्यता थियो । पुल बनेपछि यहाँका बासिन्दा सो समस्याबाट मुक्त भएको वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल राजवंशीले बताउनुभयो । 

उहाँका अनुसार पाँच सय मिटरको दूरीमा रहेको विद्यालय र वडा कार्यालय पुग्न पत्रासिंहबासीले वर्षायाममा एक घण्टा हिँड्नु पर्थ्याे । एक सय ३० मिटर लामो झोलुङ्गे पुल सङ्घीय सरकारको रु एक करोड ३० लाख लागतमा  निर्माण गरिएको हो ।     मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले आज उक्त पुल उद्घाटन गर्नुभयो । 

वि.संं २०७९ माघमा स्थानीय दुर्गा धमलाको अध्यक्षतामा उपभोक्ता समिति बनाएर पुल निर्माण सुरु गरिएको थियो । समितिले निर्धारित मितिभन्दा दुई महिना अगावै पुल निर्माण गरेको वडाध्यक्ष राजंवशीको भनाइ छ ।