भादगाउँ (भक्तपुर), १० असोज ः विश्व पर्यटन दिवसका अवसरमा आज भक्तपुर नगर प्रवेश गर्ने पहिलो पर्यटकलाई नगरपालिकाले भाँदगाउँले टोपीले स्वागत गरेको छ । नगरपालिकाले नगर प्रवेश गर्ने खौमा ध्वाका (ढोका)मा एक अष्ट्रेलियन र १६ भारतीय नागरिकलाई खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गरेको हो ।
‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा पर्यटकलाई स्वागत गरिएको हो ।
पर्यटकलाई स्वागत गर्दै नगरप्रमुख सुनिल प्रजापतिले पुरानो सहर आफैँमा एउटा सम्पदा सहर भएको जनाउँदै भक्तपुरको कला र संस्कृति संरक्षणलाई नगरपालिकाले निरन्तर जोड दिँदै आएको बताउनुभयो । भक्तपुर निर्माणमा आन्तरिक तथा बाह्य पर्यटकहरुको पनि महत्वपूर्ण योगदान रहेको जनाउँदै उहाँले भन्नुभयो, “सयौँ वर्षदेखि चल्दै आएको भक्तपुरको परम्परा र संस्कृतिलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन भक्तपुर नगरपालिकाले आवश्यक पहल गर्दै आइरहेको छ ।”
भक्तपुर प्रवेश गर्ने पर्यटकहरूमध्येका अन्ना सिंहले भक्तपुरले गरेको न्यानो स्वागतबाट आफू निकै प्रभावित भएको र सोका लागि धन्यवादज्ञापन गर्दै यहाँका कला कृतिहरु आफैँमा अद्वितीय रहेको तथा यहाँको पर्यटन प्रवद्र्धनमा आफ्नातर्फबाट सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगरप्रमुख प्रजापतिले नगर प्रवेश गर्ने पहिलो पर्यटकहरुको टोलीलाई मयूरको झ्याल र पिक्टोरियल बुक उपहारस्वरुप प्रदान गर्नुभएको थियो । कार्यक्रममा नपाका कार्यपालिका सदस्यहरू, कर्मचारी र पर्यटनसँग सम्बन्धित सरोकावालाहरूको उपस्थिति रहेको थियो ।