असोज १०, २०८० बुधबार

मनाङ, १० असोज : हिमाली जिल्ला मनाङ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको केन्द्र मानिन्छ । आज विश्व पर्यटन दिवस, २०२३ मनाङ भित्रिने पर्यटकलाई उल्लासका साथ स्वागत गरिएको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने लमजुङको बेँसीसहर मनाङे चौतारादेखि प्रारम्भ हुने यस पदमार्गमार्फत यात्रा गर्ने बाह्य पर्यटकलाई टोलटोलमा स्वागत गरिएको हो । 
    
    लमजुङअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्थित जगत, च्याम्चे र मनाङतर्फको प्रवेशद्वार तालगाउँ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चेकपोष्ट धारापानी, कोतो, चामे हुँदै माथिल्लो मनाङसम्म पुग्ने पर्यटकलाई खादा, मालासहित स्वागत गरिएको छ । मर्स्याङ्दी–४ जगतका होटल व्यवसायी पञ्चबहादुर गुरुङले कोभिडले थलिएको व्यवसाय पर्यटक आउनेक्रम बढेपछि आशा पलाएको बताउनुभयो । 
    
    उहाँले भन्नुभयो, “कोभिडका कारण पूर्णरूपमा व्यवसाय ठप्प भएको थियो, अहिले आशा पलाएको छ, यस क्षेत्रमा १५÷१६ वटा होटल छन्, अहिले यहाँका प्रायजसो होटल भरिभराउ छन् ।” दैनिक १५ जना पर्यटक बास बस्ने गरेका उहाँले जानकारी दिनुभयो । यस पदमार्गमा पर्ने होटल व्यवसायीमा पर्यटकको आगमन हुन थालेपछि खुसी छाएको छ । 
    
    मर्स्याङ्दी–४ च्याम्चेका होटल व्यवसायी बाबुराम तामाङका अनुसार यस पदमार्ग हुँदै दैनिकरूपमा थोराङ्ला पास, लार्केपास, तिलिचो ताललगायतका विभिन्न क्षेत्रतर्फ बाह्य पर्यटक जाने गरेका छन् । पर्यटन दिवसका दिनमा यस मार्गमार्फत यात्रा गर्ने पर्यटकलाई स्वागत, सम्मान गरिएको उहाँले बताउनुभयो । 
    
    मनाङको नासों गाउँपालिका–१ का वडाध्यक्ष मीनराशी गुरुङले पर्यटकको स्वागत त अन्य समयमा पनि यसैगरी गरिने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आज विश्व पर्यटन दिवस परेकाले विशेष तवरबाट पर्यटकलाई स्वागत तथा सम्मान गरेका हौँ, जिल्लाकै प्रवेशद्वार मेरै वडा भएकाले पनि यहाँ स्वागत गर्न स्थानीयवासी लागिपरेका हौँ ।”
    
    कोभिड र बाढीपहिराले विछिप्त बनेको तालगाउँ अहिले बौरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकको आगमनले हामीलाई उत्साह थपिदिएको छ, गाउँ नै छाडेर जान बाध्य बनाइसकेको गाउँलाई अहिले प्रवर्द्धन गर्नमा स्थानीयवासी तथा जनप्रतिनिधि लागिपरेका छौँ ।” यहाँका प्राकृतिक सौन्दर्य र सम्पदाको उपयोग गर्दै आयसँग जोड्ने प्रयासमा रहेको वडाध्यक्ष गुरुङको भनाइ छ । सडकसँग विकट जिल्ला मनाङ जोडिए पनि यातायात सहजरूपमा चल्न सडक जोखिमयुक्त हुँदा समस्या रहेको उहाँले बताउनुभयो । 

    मर्स्याङ्दी नदीको किनार हुँदै यस पदमार्गको यात्रा गर्नुपर्दछ । सडक र पदमार्ग एउटै हुँदा भने पर्यटकलाई सकस हुने गरेको छ । यात्राका क्रममा सवारी चल्दा हिलाम्मे भएको क्षेत्रमा हिलो छ्यापिने र धुलो भएको स्थानमा यात्रा गर्दा धुलोले बाटो छिचोल्न समस्या हुने गरेको देख्न सकिन्छ । 
    
    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले पर्यटन दिवसका अवसरमा यहाँ आउने पर्यटकलाई खादा, मालासहित स्वागत गरिएको बताउनुभयो । उहाँका अनुसार मनाङमा दैनिकरूपमा एक सय २० देखि एक सय ३० विदेशी पर्यटक आगमन हुने गरेको छ । माथिल्लो मनाङमा आजै मात्र एक सय १९ पर्यटकलाई स्वागत गरिएको उहाँले जानकारी दिनुभयो । 
    
    उहाँले भन्नुभयो, “मनाङ भित्रिएका पर्यटक विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल (४,९१९ मिटर), विश्वकै १०औँ स्थानको जोखिमयुक्त पदमार्गअन्तर्गतको थोराङ्ला पासतर्फ लागेका छन् ।” सन् २०२३ को सुरुआतदेखि हालसम्म १४ हजार चार सय २८ बाह्य पर्यटक मनाङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका अनुसार गत वर्ष सन् २०२२ मा सार्क राष्ट्रका आठ सय ४३ र अन्य गरी १९ हजार पर्यटक भित्रिएका थिए । 
    
    पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले पर्यटक देशकै आयस्रोत भएकाले पर्यटकको आकर्षण बढाउनतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सडकको स्तरोन्नतिसँगै पदमार्गलाई पनि व्यवस्थित बनाउन आवश्यक छ, सडक र पदमार्ग एउटै भएको स्थानमा वैकल्पिक पदमार्ग बनाउनतर्फ सबैको चासो पुग्नपर्छ ।” 
    
    विदेशी पर्यटक मात्रै नभई आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको सङ्घका अध्यक्ष गुरुङले बताउनुभयो । “आन्तरिक पर्यटकलाई सहज हुनेगरी विकास गर्न आवश्यक छ, मनाङमा आउने पर्यटकलाई स्वागत सत्कार गर्दा यहाँको संस्कार, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्नेछ, पर्यटक पनि यहाँको संस्कार, संस्कृतिमै रमाउन आउन आतुर हुनेछन्”, उहाँले भन्नुभयो, “यसका साथै फिल्म सुटिङको गन्तव्य बनाउन पनि सबै लाग्नुपर्छ ।” 

    मनाङ भित्रिने पर्यटकलाई विश्व पर्यटन दिवसका अवसरमा एक्याप, स्थानीयवासी, होटल व्यवसायी, प्रहरीलगायतले स्वागत गर्दै उच्च क्षेत्रको जोखिमका बारेमा जानकारीसहित यात्रा गर्न सुझाव दिएका थिए ।