काठमाडौँ, १० असोज : वरिष्ठ साहित्यकार रामबाबु सुवेदीद्वारा लिखित ‘कलम र कापीसित’ बाल गीतको भिडियो सार्वजनिक भएको छ । इम्पेरियल वर्ड स्कुलको सहकार्यमा निर्माण भएको ‘कलम र कापीसित’ बाल गीतमा साना–साना बालबालिका विद्यालय, शिक्षक, साथीभाइ, आमाबाबुको प्रेरणा र मेहेनतले पढीगुनी देशको सेवा गर्ने प्रण गर्छन्, त्यस भावनालाई कथा र भावनृत्यको माध्यमबाट भिडियोमा प्रस्तुत गरिएको छ ।
साहित्यकार सुवेदी नेपाली बाल साहित्यका एक चर्चित लेखक हुन् । उहाँका ‘आइतबार बिहानै’, ‘जमुनीको छोरो’, ‘हिमालमा हिउँ’ जस्ता गीत विद्यालयका पाठ्यपुस्तकमा पनि समावेश गरिएको छ । यी गीत नेपाली बालबालिकाका मुखमा झुन्डिएका छन् । सुवेदी उमेरले ८० वर्ष कटिसक्नुभएको छ । अझै पनि उहाँ आफैँले लेखेको गीतजस्तै हरेक बिहान सबेरै उठेर हात–मुख धोएर बाल साहित्य रचनामा तल्लीन हुनुहुन्छ ।
पचासभन्दा बढी बालगीतको छायाङ्कन र एनिमेसन भएको छ । ती गीत ‘रामबाबु सुवेदी अफिसियल’ नामक युटुब च्यानलमा हेर्न सकिन्छ । इम्पेरियल वर्ड स्कुलका संस्थापक अध्यक्ष कुमार कार्कीले आफ्नो स्कुल सधैँ नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धनमा अग्रसर रहने भएकाले शैक्षिक चेतनामूलक बालगीतमा सहकार्य गरेको प्रस्ट पार्नुभयो ।
गीतको भिडियोको निर्देशन आचार्य गोपालले गर्नुभएको हो । उहाँले म्युजिक भिडियोलाई मनोरञ्जनात्मक शैक्षिक जनचेतनाको माध्यमको रूपमा प्रस्तुत गर्नुभएको छ । गीतकार सुवेदी, सङ्गीतकार डिल्लीप्रसाद चापागाईं, गायिका बेनुका राई र रत्नशोभा महर्जन रहेको सो भिडियोको नृत्य निर्देशनमा साहारा कोइराला, सम्पादनमा मनोजकुमार पन्त र छायाङ्कनमा सुजय गौतम रहनुभएको छ ।