असोज १०, २०८० बुधबार

गण्डकी, १० असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन सरकारको प्राथमिकतामा रहेको बताउनुुभएको छ । 
    
    चवालिसौँ विश्व पर्यटन दिवसका अवसरमा पोखरा पर्यटन परिषद्द्वारा आज पोखरामा आयोजित विशेष कार्यक्रममा उहाँले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्त्वपूर्ण आधार भएको बताउनुुभयो ।
    
    पर्यटनको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक भएको भन्दै उहाँले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । भारतीय पर्यटकको पहिलो रोजाइ पोखरा र गण्डकी प्रदेश भएको उल्लेख गर्दै उहाँले भारतका पर्यटकीय सहरबाट पोखरामा सिधा उडानको पहलकदमी बढाउन भारतीय राजदूतसँग आग्रह गर्नुुभयो ।
    
    लुम्बिनीदेखि मुक्तिनाथसम्मको दु्रतमार्ग निर्माण गर्नसके हिन्दू र बौद्ध धर्मावलम्बीको ‘कनेक्टिभिटी’ राम्रो बन्ने उहाँको भनाइ छ । 

    गण्डकी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपेन्द्रबहादुर थापाले प्रदेशका पर्यटकीय उपजलाई विश्वबजारमा उपयोग गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका प्रमुख सहरमा सिधा उडान गर्नसके यसले पर्यटकको आगमन बढाउने उहाँको भनाइ थियो ।
    
    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीच नजिकको सम्बन्ध रहेको बताउनुुभयो । नेपालमा आउने पर्यटकमध्ये ४० प्रतिशत भारतीय पर्यटक रहेको बताउँदै उहाँले पछिल्ला समयमा भारतीयहरूले पदयात्रा र पर्वतारोहणमा रुचि राख्ने गरेको उल्लेख गर्नुुभयो ।
    
    पर्यटकको आगमन बढाउन सडक पूर्वाधारलाई चाँडो व्यवस्थित गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुुभयो । 

    पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना प्रभावित पर्यटनलाई अघि बढाउनु अहिलेको आवश्यकता भएको बताउँदै प्रवर्द्धनका गतिविधिलाई बढाउनुपर्नेमा जोड दिनुुभयो । 

    भारतीय मुद्रा सटहीमा देखिएको समस्याले भारतीय पर्यटक समस्यामा परेको बताउँदै उहाँले उक्त समस्याको तत्काल समाधान गर्नुपर्ने धारणा राख्नुुभयो ।