काठमाडौँ, १० असोज : नेपालको जेठो लोककल्याणकारी सामाजिक संस्था परोपकार संस्था ७६ वर्ष पूरा गरेर ७७औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसका अवसरमा आयोजित स्थापना दिवस समारोहमा संस्थाका अध्यक्ष हितकरवीरसिंह कंसकारले दिनदुःखी असहाय बिरामीको निःस्वार्थ सेवा गरौँ भन्ने संस्थाको भावअनुसार सामाजिक सेवालाई निरन्तरता दिन प्रयत्नशील रहेको बताउनुभयो ।
समारोहमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं एक सय ७५ पटक रक्तदान गरिसक्नुभएका प्रेमसागर कर्माचार्यले परोकार संस्थासँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । “हामी रक्तदाता सहकार्य गर्न तयार छौँ । यस संस्थाका संस्थापक एवं नेपालकै पहिलो रक्तदाता दयावीरसिंह कंसकारले सुरु गर्नुभएको समाजसेवाको निरन्तरता हौँ हामी”, उहाँले भन्नुभयो, “जसरी परोपकार संस्थाले आर्थिक लाभलाई हेर्दैन, हामी रक्तदाता सोही अभियानमा छौँ, जहाँजहाँ आवश्यक छ सहकार्य गरेर अघि बढौँ ।” उहाँले संस्थालाई गैरसरकारी संस्था बनाउनसमेत सुझाव दिनुभयो ।
संस्थाका संस्थापक समाजसेवी एवं नेपालका प्रथम रक्तदाता दयावीरसिंह कंशकारको तस्बिरमा माल्यार्पण गरिएको थियो । पत्रकार एवं राष्ट्रिय दैनिक गोरखापत्रका पूर्वअध्यक्ष पुष्कर माथेमाले वैदेशिक सहयोगबिना पनि समाजसेवामा समर्पित हुनु उदाहरणीय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले एनजीओ/आइएनजीओको बढ्दो ट्रेण्ड हेर्दा ‘फन्ड’ का लागि मात्र संस्था खोल्ने प्रवृत्ति देखिन्छ । विनावैदेशिक सहयोग पनि सञ्चालन भइरहेको यो संस्था समाजसेवाका लागि समर्पित हुनु उदाहरणीय छ ।”
संस्थाका कोषाध्यक्ष उत्तमलाल जोशीले आर्थिक वर्ष २०७९/८० मा रु दुई करोड २९ लाख ३५ हजार छ सय ८८ आम्दानी गरेको छ भने दुई करोड पाँच लाख ९५ हजार २१ रुपैयाँ खर्च गरेको आर्थिक विवरण सार्वजनिक गर्नुभयो ।
नेपालका प्रथम रक्तदाता एवं समाजसेवी दयावीरसिंह कंसकारले २००४ साल असोज १० गतेका दिन गैरनाफामूलक लोककल्याणकारी सामाजिक संस्थाको स्थापना गर्नुभएको थियो । संस्थाले बालबालिकाको अनाथालय सञ्चालन र परोपकार केन्द्रीय चिकित्सालय सञ्चालनका लागि सहयोग प्रदान गर्न नेपालका लगभग ३२ जिल्लामा संस्थाबाट स्वास्थ्य सेवा प्रदान गर्नका लागि सञ्चालित परोपकारका १३ वटा दान विभाग शाखा तथा केही प्राथमिक उपचार केन्द्रका लागि अनुदान, पारिश्रमिक र औषधि आदिका लागि आवश्यक रकम उपलब्ध गराउँदै आएको छ ।