असोज १०, २०८० बुधबार

काठमाडौँ, १० असोज : चवालिसौँ विश्व पर्यटन दिवसका अवसरमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पदयात्रा गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज साँझ ७ बजे विभिन्न बाजागाजासहित पदयात्रा गरिएको हो । सोही अवसरमा नेपाली पञ्चेबाजा र नेवारी धिमेबाजा बजाइएको थियो ।

    कर्मचारी सञ्चयकोषबाट सुरु भएको पदयात्रा ज्याठा, चाक्सिबारी, सातघुम्ती, वैशाली होटल, अस्कल क्याम्पस, छायाँ सेन्टर हुँदै नरसिंहचोकमा पुगेर समापन भएको थियो । पदयात्रा कार्यक्रममा परिषद्का अध्यक्ष भविश्वर शर्माले विभिन्न पर्यटनसँग सम्बन्धित संस्थाका अध्यक्ष तथा व्यवसायी भेला भएर विश्व पर्यटन दिवसको अवसरमा पदयात्रा गरिएको बताउनुभयो । ‘पर्यटन र हरित लगानी’ भन्ने मूल नाराका साथ यस वर्ष विश्व पर्यटन दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

    यसअघि आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको आयोजनामा पाटनढोकादेखि मङ्गलबजारसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । सोही क्रममा पर्यटनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव, पर्यटन विभागका महानिर्देशक लगायतको सहभागिता रहेको थियो ।