असोज १२, २०८० शुक्रबार

गलकोट (बागलुङ), १२ असोज : पर्यटन प्रवर्द्धन, सम्भावना र लगानी खोज्ने उद्देश्यले ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महसङ्घको बैठक बस्ने भएको छ । 

महासङ्घका तेस्रो कार्यकारिणी बैठक यही असोज १५ र १६ गते नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा बस्ने भएको हो ।

उद्योग वाणिज्य सङ्घ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य सङ्घको आतिथ्यतामा बैठक गर्न थालिएको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । उहाँ अनुसार बैठकमा महासङ्घका ७० जनाको कार्यसमितिसहित सरोकारवाला निकाय, ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका जनप्रतिनिधिको सहभागिता रहनेछ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष कार्यालयले समेत समन्वयको भूमिकामा खेल्नेछ । 

“निजी क्षेत्रका उद्योगी तथा व्यवसायी ढोरपाटन आउँदा प्रचार–प्रसारसँगै त्यहाँको नयाँ सम्भावना र लगानीको क्षेको पहिचान हुनेछ”, कार्कीले भन्नुभयो, “जिल्लामा  पर्यटनको सम्भावना र लगानीका विषयमा अन्तरक्रिया पनि हुनेछ ।” उहाँले देशभरका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले ढोरपाटनको विकासमा सहयोग पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो । ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधासम्पन्न होटलसहित अन्य व्यावसायिक योजनासमेत बनाउन यो बैठकले सहयोग पुग्ने उहाँको भनाइ छ । 

“बैठक पर्यटकीय क्षेत्रको विकास, लगानीको खोज, कृषि उपजको बजारीकरणका लागि कोशेढुङ्गा सावित हुनेछ, ढोरपाटनमा आलु र स्याउको पनि राम्रो सम्भावना छ”, उहाँले भन्नुभयो । 

बैठकमा सहभागी हुन आउने उद्योगी तथा व्यवसायीहरू होटल तथा सामुदायिक घरबासमा पाहुनालाई राखिनेछ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित कार्यसमितिले ढोरपाटन क्षेत्रको अध्ययन, स्थालगत अवलोकन र शिकार आरक्ष कार्यालयको भ्रमण गर्ने कार्ययोजना छ । 

सो अवसरमा उक्त टोलीले प्रसिद्ध ढोरबराह मन्दिरसमेत दर्शन गर्नेछ । ढोरपाटनमा देशभरका उद्योगी तथा व्यवसायीका नेता आउँदा यहाँको गरिमा बढ्ने ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र्र छन्त्यालले बताउनुभयो । 

ढोरपाटन सिकार आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, स्याउ बगैँचा, ढोर बराह मन्दिर, देउराली, निशेलढोर, सिकार आरक्ष कार्यालयको सङ्ग्रहालयलगायत ढोरपाटनमा पर्यटक भुलाउने अनेकौ स्थान रहेकामा तिनीहरूको प्रचार–प्रसार हुने गरी बैठकको आयोजना गरिएको छ । 

सिकार खेल्नका लागि मात्रै विदेशी पर्यटक आउने ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटक वृद्धि भएको छ । तर ढोरपाटन पुग्ने सडक र त्यहाँ सुविधासम्पन्न होटलको अभाव छ ।