नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतमको ७५ औँ अर्थात हीरक जयन्ती मंगलबार विभिन्न कार्यक्रम आयोजना गरि मनाइँदै छ ।
विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।
आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलन पछि जहानिया राणा शासनका विरुद्धमा केन्द्रित भएको थियो । राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि जहानिया राणा शासनको विरोध गर्दै देशभर जागरण फैल्याएका थिए । यसले कुना कन्दराका जनतालाई राणा शासकका विरुद्ध सङ्गठित गरेको थियो ।
देशका विभिन्न भाग हुँदै विद्यार्थीहरु भारतको वनारस पुगे । वनारसमा राणा शासनको अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहनुभएका नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेतासँग जयतु संस्कृतमका अगुवाहरु पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा लगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक भएका थिए । त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन सुरु गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।
आन्दोलनको स्वर्ण वर्षको अवसरमा विसं २०५५ मा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतमलाई संस्थागत स्वरूप दिई विधित रूपमा दर्ता गरिएको थियो । त्यसै वर्षदेखि संस्थागतरूपमा जयतु संस्कृतम दिवस मनाउन थालिएको हो । यस अवसरमा मंगलबार बिहान दरबारमार्गस्थित तीनधारा पाठशालाअघि रहेको जयतु संस्कृतम स्तम्भमा माल्र्यापण, पुष्पगुच्छासहित विश्व शान्तिको सङ्कल्पले स्वस्ति वाचन गरिने संस्थाका अध्यक्ष डा। बद्री पोखरेलले जानकारी दिए । विगत वर्षमा दिवसका अवसरमा पदयात्रा गरिन्थ्यो ।
यस वर्ष नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण सो कार्यक्रम स्थगित गरिएको छ । उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भने जुम प्रविधिबाट आयोजना गरिएको छ ।
दिउँसो भने जुम प्रविधिका माध्यमबाट संस्थाले दुई बजे हीरक जयन्ती शुभारम्भ गर्दैछ । कार्यक्रममा पूर्वसभामुख एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जयतु संस्कृतम् आन्दोलनका सहभागी एवं पूर्वमन्त्री अच्युतराज रेग्मीलगायतले सम्बोधन गर्ने छन् ।