असोज १२, २०८० शुक्रबार

गोदावरी (कैलाली), १२ असोज : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र विकास र समृद्धिका लागि सबैसँग हातेमालो गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । 

हार्डवेयर व्यवसायी सङ्घ कैलालीले शुक्रबार आयोजना गरेको ‘सुदूरपश्चिमका सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले सुदूरपश्चिम प्रदेश सम्भावनाको क्षेत्र भएकाले निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन सधैँ तयार रहेको बताउनुभयो ।

प्रदेशको समग्र विकासका लागि समन्वय र सहकार्य गर्न तयार रहेको बताउँदै उहाँले प्रदेशमा लगानीको आकलन गर्न प्रदेश सरकारले छिट्टै लगानी सम्मेलन गर्न लागेको बताउनुभयो । मुख्यमन्त्री शाहले सम्मेलनले पहिचान गरेका सम्भावनाका क्षेत्रका आधारमा निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बन्न सहयोग पुग्ने विश्वास प्रदेश सरकारले लिएको बताउनुभयो । 

सुदूरपश्चिमको समग्र विकासका लागि सङ्घ, प्रदेश, स्थानीय तह र नीजि क्षेत्र मिलेर अघि बढे मात्र प्रदेशमा रहेका सम्भावनालाई उजागर गर्न सकिने उहाँको भनाइ थियो । उहाँले प्रदेश सरकारप्रति जनताका इच्छा, चाहना धरै भएको त्यसलाई सार्थक बनाउन प्रदेश सरकार लागिपर्ने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशमा चुप्रै सम्भावनाका साथै चुनौति पनि रहेको बताउँदै उहाँले चुनौतीलाई अवसरका रूपमा बदल्न सक्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले जलविद्युत्मा सबैभन्दा बढी सम्भावना रहेको सुदूरपश्चिममा एउटा ठूलो गौरवको योजना बनाउन सके विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले नीति क्षेत्रसँग सहकार्य र समन्वय गरेर प्रदेशको समग्र विकासका लागि प्रदेश सरकार अघि बढ्ने बताउनुभयो ।