असोज १३, २०८० शनिबार

चीनका राष्ट्रपति सी चिनफिङले पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीलाई शुक्रबार पाकिस्तानको बलुचिस्तान प्रान्तमा एक मस्जिद नजिक भएको विस्फोटमा ठूलो मानवीय क्षति भएकामा आफू स्तब्ध भएको बताउँदै उहाँप्रति सहानुभूति प्रकट गर्नुभएको छ । 
 
    चीन सरकार र जनताका तर्फबाट राष्ट्रपति सीले राष्ट्रपति अल्वीलाई विस्फोटमा ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो शोक व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
  
    चिनियाँ राष्ट्रपतिले सबै किसिमका आतङ्कवादका रुप र प्रकटीकरणको दृढतापूर्वक विरोध गर्ने, राष्ट्रिय स्थायित्व एवं सुरक्षा कायम गर्ने पाकिस्तानको प्रयासमा चीनले दृढतापूर्वक सहयोग  गरिरहने प्रतिबद्धता सन्देशमा व्यक्त गर्नुभएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि पाकिस्तानका कामचलाउ सरकारका प्रधानमन्त्री अनवर–उल–हक काकरप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । 

बलुचिस्तानको दक्षिणपश्चिमी मस्तुङ जिल्लामा पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी गराइएको विस्फोटमा ५२ जनाको मृत्यु भएको थियोभने अन्य ५० जनाभन्दा बढी घाइते भएका थिए ।