असोज १४, २०८० आइतबार

राजविराज (सप्तरी), १४ असोज : पाँच वर्षदेखि राजविराज–हनुमाननगर सडक खण्ड जीर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाँच वर्षसम्म पनि जीर्ण सडक मर्मत नहुँदा आवागमनमा समस्या भएको स्थानीयको भनाइ छ ।

    सडकमा परेका ठूलासाना खाल्डाले सवारीसाधन आवतजावतमा सकस हुने गरेको स्थानीय कमल मण्डलले बताउनुभयो । हनुमाननगर र राजविराज जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक स्तरोन्नतिका लागि स्थानीय तथा सम्बन्धित निकायले चासो नदिँदा यात्रुलाई सास्ती हुने गरेको उहाँको भनाइ थियो । हनुमाननगर–राजविराज सडकअन्तर्गत तोपाखण्डको सडकमा सवारी साधन गुड्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो 

    वर्षामा मात्र नभई अरु समयमा पनि जीर्ण सडकका कारण सदरमुकाम राजविराजसम्म पुग्न समस्या हुने गरेको जनता समाजवादी पार्टीका नेता जीतेन्द्र खड्गाले गुनासो गर्नुभयो । यस खण्डमा ठूलाठूला खाल्डो भएकाले रातिको समयमा यात्रा गर्दा थप जोखिम रहेको बताउँदै यहाँ सवारी दुर्घटनाको अत्यधिक सम्भावना रहेको उहाँको भनाइ थियो ।

    सोही खण्डअन्तर्गत मन्सापुर नजिक सडेपारमा पनि यात्रा गर्न सास्ती हुने स्थानीय शैलेन्द्र सिंहले बताउनुभयो । “हामीले सडक विभाग, पालिका तथा वडा कार्यालयलाई सडक बनाउन आग्रह गर्दा पनि स्तरोन्नतिको काम भएको छैन”, उहाँले भन्नुभयो, “सम्बन्धित निकायको लापरवाहीका कारण स्थानीयले सास्ती भोग्दै आएका छौँ ।”
    
    सडकको अवस्थाका कारण आपत्कालीन बिरामीलाई विराटनगर, धरानलगायतका अस्पताल पु¥याउन निकै सास्ती हुने गरेको एम्बुलेन्स चालक महिनारायण यादवले गुनासो सुनाउनुभयो । १२ किलोमिटरको उक्त सडक खण्डको चार किलोमिटर अति जीर्ण अवस्थामा रहेको उहाँले बताउनुभयो । सडकका कारण दुर्घटनाको जोखिम बढेको भन्दै उक्त खण्डको मर्मतसम्भार गर्न स्थानीयले माग गरेका छन् ।