असार १, २०७८ मंगलबार

अमेरिकाको म्यारिल्याण्ड राज्यमा भौतिक रुपमा आयोजना हुँदै आएको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव – २०२१ यहि जुन महिनाको १७–२० सम्म अनलाइन (भर्चुअल) बाट हुने भएको छ। चार दिनसम्म संचालन हुने महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १४ देशका ३० वटा चलचित्रहरु प्रदर्शन हुने कुरा आयोजकले जानकारी गराएका छन्।

जुनको १७ तारिक बिहीबार साँझ भर्चुअल रुपमा चलचित्र महोत्सवको उद्घाटन भएर २० तारिक आइतबार साँझ समापन समारोह तथा पुरस्कार वितरण हुनेछ। महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत निशुल्क हेर्न सकिनेछ। प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ। प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट चलचित्रहरुलाई पुरस्कृत पनि गरिनेछ।

चलचित्र महोत्सव २०२१ का लागि ६ जना महिलाहरुको निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरुको पुरस्कार घोषणा गर्नेछ। नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरीको रुपमा रहेका छन्। महोत्सवमा आवेदन परेका चलचित्रहरुलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो।

कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो। २०२१ को संस्करण भने भर्चुअल रुपमा हुँदैछ ।