असार २, २०७८ बुधबार

आजकाल योगका विषयमा थुप्रै चर्चा हुने गरेको छ । सामान्य अभ्यासले नै अभ्यासकर्तामा ठूलै परिवर्तन पनि ल्याएको देख्न सकिन्छ । पछिल्लो समयमा जब कोरोनाले वैश्विक महामारीकाे रूप ग्रहण गर्‍यो । त्यतिबेला सबैतिर लकडाउन नै भयो । मान्छेहरू घरभित्र बस्न बाध्य भए । त्यसबेला केही शारीरिक परिश्रम गरेर पनि शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ भनेर योग गर्न सुझाइयो । त्यसपछि विभिन्न वेविनारहरू मार्फत पनि योगका विषयमा व्यापक चर्चा भयो ।

योगका सिकारु र प्रशिक्षक एकाएक यसको प्रवर्द्धनमा जुटे । धेरैले योगका विविध आसनकको अभ्यास गर्न थाले । वास्तवमा योगको अर्थ जोड्नु भन्ने हुन्छ । सारा ब्रह्माण्डसँग जति ऊर्जा तरङ्गित हुन्छ ती सम्पूर्ण ऊर्जाको स्रोत स्वयं आफूमा अवस्थित भएर रहेको हुन्छ । त्यसलाई पहिचान गर्न सक्नु नै वास्तवमा योग हो । योग अर्थात् जोड्नु । त्यो ब्रह्माण्डीय वास्तविक तत्त्वसँग जोडिनु, आफूलाई समाहित गराउनु । यो नै योग हो । आध्यात्मिक तवरले भन्नुपर्दा योगको अर्थ हो- आत्मालाई परमात्मासँग मिलन गराउनु । यसमा चित्तको वृत्ति-निरोध पनि एक जरुरी अङ्ग हुँदै हो ।

आत्मबोध भएको मान्छेले सारा जगत्लाई परमात्म-स्वरुप अनुभूत गर्ने हुनाले वसुधैव कुटुम्बकम्लाई स्वतः आत्मसात् गरेको हुन्छ । अर्को प्राणीलाई पनि आफूजस्तै देख्ने हुनाले त्यहाँ परपीडा हुँदैन द्वेष हुँदैन, क्रोध हुँदैन झै-झगडा र मारकाट हुँदैन, हिंसा हुँदैन ।

परोपकार योगीको जीवनको स्वाभाविक कर्म हुन्छ । सर्वे भवन्तु सुखिनःको भावनाले भरिपूर्ण हुन्छ ऊ । योग त मानवताको उच्चतम् स्वरूप हो । तसर्थ त्यहाँ प्रेम, शान्ति, धैर्य, सन्तोष, दया, त्याग आदि जस्ता गुणको नै उपस्थिति हुन्छ । योगले परम् आनन्द, शान्ति एवं सुख प्रदान गर्दछ । आहार, निद्रा, भय र मैथुन -यी कुराहरू मनुष्य र पशुहरूमा समान छन् । मनुष्यमा विशेषता यो छ कि उसमा ज्ञान अर्थात् विवेक पनि छ । ज्ञानहीन मनुष्य पशु समान नै मानिएको छ । मनुष्यलाई ज्ञान प्राप्त भएकाले उसको जीवन-दर्शन पनि अरू प्राणीका तुलनामा पृथक् किसिमको छ ।

यसकारण योगले मानवको शारीरिक एवं मानसिक स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले योगाभ्यास दैनिकी नै बन्न पुगेको छ । यसले शारीरिक तन्दुरुस्तीसँग मानसिक स्वास्थ्यलाई पनि सन्तुलित राख्ने भएकाले योग अपरिहार्य नै हो । यसकारण योग गरेर निरोग रहने सकिने भएकाले योगलाई जीवनको अभिन्न अङ्ग मानिएको छ । योग गरौँ, निरोगी रहौँ ।