असार २, २०७८ बुधबार

फाइल तस्बिर

‘रजतपट कोसेली अभियान’ को तेस्रो चरणको राहत वितरण गर्ने क्रममा आँचल शर्माले फिल्म क्षेत्रसँग सम्बन्धित कोही व्यक्तिलाई भोको बस्न नदिन आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । नर्भिक अस्पतालमा उपचारार्थ अभिनेत्री तथा मोडल निशा घिमिरेलाई आइतबार भेट गरेर एक लाख सहयोग गर्ने बाचा गरेकी उनले सोमबार सयभन्दा बढी प्राविधिक, जुनियर कलाकार, होचा पुड्का संघका पदाधिकारी तथा सदस्यहरू, सुत्केरी, असक्त र केही सर्वसाधारणलाई खाद्यान्न वितरण गरिन् ।

१० दिने ध्यान शिविरबाट फर्किएपछि उनी राहत वितरणमा अग्रसर भएकी छन् । उनी भन्छिन्, ‘म केही दिन विपश्यना ध्यानमा गएका कारण राहत वितरणमा सहभागी हुन पाइनँ । विपश्यनाबाट आएपछि भने राहत वितरणमा मैले आफ्नो उपस्थिति जनाउन थालेकी हुँ ।’
 
राहत बाँड्नु अत्यन्त राम्रो काम भए पनि पीडितको आवश्यकताअनुसार राहत वितरण गर्नुपर्नेमा उनको जोड छ । आँचल अगाडि भन्छिन्, 'कसैलाई अन्य सामग्रीको आवश्यकता परेको हुनसक्छ । त्यसैले मैले सकेसम्म पैसा सहयोगमा नै बढी जोड दिने गरेकी छु ।’ सामाजिक कार्य गर्दा मनदेखि नै आनन्द र खुसी मिल्ने उनी बताउँछिन् ।

कोरोनाका कारण प्राविधिकहरू समस्या रहेको खबर सार्वजनिक हुन थालेपछि देश तथा विदेशमा बस्ने फिल्मकर्मीहरूले सहयोग गरिरहेका छन् । कतिले खाद्यान्न सहयोग गरेर प्राविधिकको मुहारमा खुसी छरेका छन् भने कतिले आर्थिक सहयोग गरेका छन् । दिनहुँ श्रम गरेर गुजारा चलाउने वर्ग ठूलो मारमा परेका छन् । निषेधाज्ञापछि फिल्म क्षेत्रका गतिविधि ठप्प हुँदा प्राविधिकहरूको अवस्था दयनीय छ । कतिको घरमा खाद्यान्न अभावले चुल्होसमेत बल्न छाडेको छ भने कतिले लकडाउनदेखि नै कोठाभाडा तिर्न सकेका छैनन् ।