असार २, २०७८ बुधबार

सम्झनाले नपोलोस् भनेर हो
सजिलो पारिदिएको
छुट्नु त छँदै छ
बाटो सकिएछ मेरो ।

कुनै संयोगमात्र थिएन
र प्रायोजित त छँदै थिएन ।

बिर्सिनै नसक्ने गुनहरू
खोइ के थिए !
र उद्देश्य पनि त खास थिएन ।

कोही कसैको भइरहन्छ भन्ने
एउटा नमीठो भ्रम थियो त्यो
जुन छ्याङ्ग हुनु थियो ढिलोचाँडो
यसरी नै बुझिदिनू ।

आँसुको मोल खोजिनँ
त्यागको बदला मागिनौ
उधारो निद्रा साटिएका
सपनाको तौल भेटाएनौँ हामीले ।

झुक्न दिइनौ
छिर्के हान्नेहरू देखि
सजग बनायौ
उदास ओठमा मुस्कान थपेको
गुनको बदला तिर्न सकिनँ ।

जून छुटेको थाहै नपाउँने
तारा गनेर कहिले थाक्नु र !
परीक्षामात्रै लिने जिन्दगी
र कसि लाउन हतार आफन्त
मसानसम्म पुग्न र फर्कनको
औपचारिकता पूरा गर्छन् ।

ठेस लागिएन एक अर्कामा
बाटाभरि फिंजारियौँ
बोझ कहिल्यै भएन
छायाँको एक अर्कामा
घाउहरू पुरिएपछि
नमेटिने निशानी छ नामको ।

रङ्ग विनाको फूल
र आँसु विनाको आँखा 
हुँदैनन् भनेर थाहा थियो
र त एक अर्कामा
न्याना किरणबाहेक 
केही अपेक्षा राखेनौँ ।

प्रेम हुन सजिलो छैन
प्रेममा मिलन जरुरी छैन
प्रेममा पर्न कुनै कारण हुँदैन
परिभाषा समान थिए
मन सदैब समानान्तर रह्यो
र यो बिदाइ
सायद ! सौहार्द रह्यो ।