काठमाडौं – बलिउड नायक सुनिल सेट्टीले नेपाली फिल्म 'एक्स ९' मा काम गर्ने चर्चा चलेको छ । ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले चलचित्र ‘एक्स ९’का लागि सेट्टीलाई नेपाली पर्दामा उतार्न लागेका हुन्।
सुनिललाई खलनायकको भूमिकाका लागि अफर गरिएको हो । सुनिलसँग मौखिक कुरा भैसकेको र यसमा उनी सकारात्मक रहेको निर्माण पक्षले बताएको छ। सुनिलसँग एक साताको समय मागिएको छ।
सुनील सेट्टीले सहमत भएमा लकडाउनपछि कागजी सम्झौता हुनेछ। सुनिलले दिनको पारिश्रमिक लिने भएकाले एक सातामा नै उनको छायांकन सक्ने निर्माण पक्षको योजना छ । पारिश्रमिकका विषयमा पनि कुरा भइरहेको निर्देशक भट्टले जानकारी दिए।
यो चलचित्रको छायांकन नेपाल, भारत र यूरोपका विभिन्न देशमा गर्ने तयारी गरिएको छ। चलचित्रका लागि नायक अनमोल केसीलाई पनि अफर गरिएको छ। चलचित्रको शीर्ष भूमिकामा अनमोललाई अफर गरिएको र उनी पनि काम गर्न तयार रहेको निर्देशक भट्टले जानकारी दिए।