कात्तिक १३, २०८० सोमबार

पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले अर्थतन्त्रलाई बढावा दिनका लागि पाकिस्तानले अन्य मुलुकहरूसँग संयुक्त उद्यम कार्यक्रममार्फत प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढाउने प्रयास गरिरहेको बताउनुभएको छ । 

    मुलुकको दक्षिणी बन्दरगाह सहर कराँचीमा सम्बोधन गर्दै उहाँले पाकिस्तानमा एफडीआईको माध्यमबाट आर्थिक विकासलाई बढाउने भरपुर क्षमता रहेको र यसको उपयोग जिम्मेवारी लिएर र विवेकपूर्ण नीतिहरू बनाएर गर्न सकिने बताउनुभयो । 
    
    धेरै राजनीतिक तथा आर्थिक चुनौतीका बाबजुद सरकारले आर्थिक सूचकहरूलाई माथि लैजानका लागि हरसम्भव प्रयास गरिएको उहाँको भनाइ थियो । 

    “सहज व्यापार र समयमै लिइने निर्णयले मुलुकलाई आर्थिक स्थिरताको मार्गमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, पाकिस्तानलाई आर्थिकरूपमा बलियो बनाउन व्यापारिक समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रपति अल्भीले भन्नुभयो । 

    राष्ट्रिय विकास प्रक्रियामा महिला सहभागिताका बारेमा कुरा गर्दै उहाँले महिलाहरूलाई वित्तीयरूपमा सक्षम बनाउन र उनीहरूलाई मुलुकको अर्थतन्त्रमा आफ्नो भूमिका निर्वाह गर्न सक्षम बनाउनका लागि कम्पनीहरूमा रोजगारी दिनुपर्ने बताउनुभयो ।