पेरिस, २२ कात्तिक: फ्रान्सेली कारनिर्माता कम्पनी रेनो र जापानी साझेदार निसानले २४ वर्ष पुरानो चट्टानी साझेदारीलाई पुनः स्थापित गर्ने प्रयास गर्दै बुधबार औपचारिक रूपमा आफ्नो ‘पुनःसन्तुलन’ सहकार्य’ सुरुवात गरेका छन् ।
कम्पनीहरूले फेब्रुअरीमा आफ्नो साझेदारीको घोषणा गरेका छन्, जसमा जापानी कार निर्माता कम्पनी मित्सुबिशी पनि समावेश छ । पछिल्लो सहमति अनुसार रेनोले आफ्नो प्रमुख स्थान छोडेपछि तीन वटै कम्पनीको हैसियत समान स्तरमा रहने घोषणा गरिएको छ ।
रेनो ग्रुप र निसानबीच भएको नयाँ सहकार्य सम्झौता नोभेम्बर ८ देखि लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“रेनो समूह, निसान र मित्सुबिशी मोटर्सका लागि यो निकै महत्वपूर्ण कदम हो,” नयाँ गठबन्धनका अध्यक्ष ज्याँ डोमिनिक सेनार्डले भन्नुभयो ।
उहाँले भन्नुभयोे, “यो सम्झौताले नयाँ निष्पक्ष, दीर्घकालीन र प्रभावकारी साझेदारीको जग बसाल्छ, जसले एलायन्सका प्रत्येक सदस्य र हाम्रा सबै सरोकारवालाका लागि मूल्य सिर्जना गर्नेछ ।”
यो साझेदारी सन् २०१९ मा सुरु भएको थियो । साझेदारीका कारण रेनोले निसानलाई आर्थिक सङ्कटबाट बचाएको थियो ।
सन् २०१६ मा मित्सुबिशी मोटर्स र निसानले आफ्नो सङ्घर्षरत जापानी प्रतिद्वन्द्वीमा ३४ प्रतिशत हिस्सा लिएको थियो ।
तर सन् २०१५ मा फ्रान्सेली सरकारले रेनोमा आफ्नो हिस्सा बढाएपछि तनाव उत्पन्न भएको थियो । यसलाई पछि घटाइएको छ र गठबन्धनको मामिलामा हस्तक्षेप गर्ने सरकारको क्षमतालाई सीमित गर्ने सहमति भएको छ ।
सन् २०१८ मा निसानका मालिक कार्लोस घोसनलाई जापानमा पक्राउ गरेपछि एकता फेरि विवादित भएको थियो ।
सन् २०१९ मा अभियोजनबाट बच्नका लागि बर्खास्त भई लेबनान भागेका घोसनले आफूमाथि लागेको आरोप जापानी र फ्रान्सेली कार निर्माता कम्पनीलाई नजिक ल्याउनबाट रोक्नका लागि लगाइएको दाबी गर्नुभएको छ ।
कम्पनीहरूले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नयाँ गठबन्धनले नयाँ सन्तुलित, निष्पक्ष र प्रभावकारी शासनका लागि जग बसाल्छ ।”
सम्झौताअनुसार रेनोले जापानी कार निर्माता कम्पनीमा आफ्नो हिस्सा ४३.४ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारेको छ ।
रेनो र निसानको मताधिकार १५ प्रतिशतमा सीमित गरिएको छ ।
निसानले यसै वर्षको सुरुमा रेनोको नयाँ विद्युतीय सवारी साधन उद्यम, एम्पियर, ६० मिलियन यूरो (६४ करोड अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको थियो । मित्सुबिशीले एम्पियरमा २०० मिलियन यूरो थपेको छ ।
रेनोका प्रमुख कार्यकारी लुका डे मेओले भन्नुभयो, “हामी अब व्यावहारिक र व्यवसाय उन्मुख दृष्टिकोणका साथ गठबन्धनको यो नयाँ युगमा प्रभावकारी रूपमा प्रवेश गर्दैछौँ ।”
निसानका प्रमुख कार्यकारी अधिकृत माकोटो उचिदाले भन्नुभयो, “यो समान आधारमा, निसानले हाम्रो मुख्य दक्षताको दोहन जारी राख्नेछ र हाम्रो व्यापार रणनीतिलाई समर्थन गर्ने थप वृद्धिका अवसरहरूको खोजी गर्न थप चुस्त हुनेछ ।”