असार ४, २०७८ शुक्रबार

अचेल म हर समय जूनसित हुन्छु ।
तिम्रो विरहमा
तिमीलाई सपक्क छातीमा लाउनसक्ने भा'छु ।
मलाई जूनले सदा तिमीमै विलय गराइदिएको छ

तिमीजस्तै भएको आभाष गराइदिएको छ ।


तिमीबाट म टाढा गएपछि
सायद !
तिमी अबेर रातसम्म आँसु बगाउँछ्यौ

जूनलाई पनि रुवाउँछ्यौ ।


मैले एकाबिहान पात छाम्दा
शीतका थोपा पातमा टल्किरहेका देख्दछु ।
के ती पातबाट
मेरा हातले पुछिएका शीतका थोपा
तिम्रा आँसु थिए ?

अहँ !
भन्दिन अब
मबाट तिमी टाढा छ्यौ भनेर पनि
उही जूनलाई तिमीले पनि हेरिरहेकी हौली !
मैले पनि तिमीलाई सम्झेर उही जूनलाई हेरिरहन्छु
आँखिर !
हामीले हेर्ने जून एउटै छ भने
के तिमी र म
टाढा भयौँ र ?

तिमी
सुखमा रमाएर नाचिरहँदा
या अवसादमा टोलाएर
एक्लै हिँडिरहँदा
अथवा
म आफ्नै छायाँलाई पछ्याइरहँदा
जूनले बनाइदिएको
हामी द्वयको छायाँको कालो रङ्ग
के त्यो कालो रङ्ग
तिमी र मबीचको समानता हो ?

यदि
त्यसो हो भने
तिमीबाट म कत्ति पनि टाढा नगएझै लाग्छ
तिमी र म एकै भएझै लाग्छ ।