काठमाडौँ,५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम मूल्याङ्कन असारभित्र गरिसक्नुपर्ने जनाएको छ ।
असारभित्र मूल्याङ्कन सकेर साउनदेखि कक्षा १२ को पठनपाठन सञ्चालन गर्न सकिने बोर्डले जानकारी दिएको छ ।
बोर्डले गत वर्ष नै कार्यविधि बनाएर कक्षा ११ को परीक्षाको मूल्याङ्कन गर्नसक्ने अधिकार विद्यालयलाई दिइसकेको छ । कार्यविधिमा असारभित्र विद्यार्थीको अन्तिम वार्षिक मूल्याङ्कन सक्ने समयसीमासमेत उल्लेख छ । कार्यविधिले स्पष्ट गरिसकेकाले सोहीअनुसार हुने बोर्डका अध्यक्ष प्रा.चन्द्रमणि पौडेलले बताए ।