मंसिर १, २०८० शुक्रबार

खजुरा (बाँके), १ मङ्सिर : बाँकेको राप्तीपारि क्षेत्रमा पर्ने नरैनापुरस्थित धार्मिक पर्यटकीयस्थल गोवर्द्धनधामलाई प्रचारप्रसार गरी संरक्षणको पहल थालिएको छ । नरैनापुर–४ स्थित गोवर्द्धनधामलाई धार्मिक पर्यटकीयस्थलका रुपमा प्रवर्द्धन गर्न यस वर्षको तिहारमा विशेष पूजापाठ, भजनकीर्तन र भण्डारा गरिएको छ । 

    विश्व हिन्दू परिषद् नरैनापुरले उक्त धार्मिकस्थलको संरक्षण एवं संवद्र्धन गर्नका लागि पहल सुरु गरेको परिषद्का सदस्य अधिवक्ता रामकुमार दीक्षितले बताउनुभयो । उहाँका अनुसार यहाँ परापूर्वकालदेखि हरेक वर्ष गोवर्द्धन पूजाको अघिल्लो दिनदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना हुँदै आएको थियो । ऐतिहासिक र धार्मिक महत्व बोकेको गोवर्द्धनधाम प्रचारप्रसारको अभावले ओझेलमा परेकामा यस वर्षदेखि फरक किसिमको धार्मिक कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो ।

    रातभर जाग्राम बसेर पूजाका साथै भजनकीर्तन गरी गोवर्द्धन पूजाका दिन गोवद्र्धनको पूजासहित बृहत् भण्डारा गरिएको दीक्षितले बताउनुभयो । पूजाआजा तथा भण्डारामा बाँके, बर्दिया, दाङका साथै भारतको सीमावर्ती गाउँका सयाैँ दर्शनार्थी आउने गरेका उहाँको भनाइ थियो ।

    प्राकृतिक रुपमा रमणीय र सुन्दर दृश्यले भरिपूर्ण यस क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई ल्याउन सके स्थानीयको आयस्रोतमा वृद्धि हुनाका साथै यहाँको पहिचान पनि हुने दीक्षितले बताउनुभयो । 

    नेपालगञ्जदेखि करिब ४० किलोमिटर पूर्व नरैनापुरको वडा नं ४ जयरामपुरुवाबाट उत्तर पाँच किलोमिटर जङ्गलभित्र गोवर्द्धनधामको मन्दिर छ । गोवर्द्धनधाम क्षेत्रको पूर्वमा धार्मिक पर्यटकीयस्थल बर्फानी बाबाको आश्रम र पश्चिममा प्रसिद्ध सन्तानेश्वर मन्दिर रहेको छ । 

    नरैनापुर क्षेत्रको पहाडी भूभाग र राप्ती नदी किनार क्षेत्रमा विभिन्न मठमन्दिर रहेका छन् । यहाँका जङ्गल क्षेत्रमा हिन्दू तथा मुस्लिम आस्थाको केन्द्रका रुपमा धेरै धार्मिकस्थल, मठमन्दिर, समाधि, मजारहरु रहेकाले पनि यस क्षेत्रको संरक्षण तथा संवद्र्धनमा सरकारको ध्यानाकर्षण गराउन पहल थालिएको छ ।