मंसिर ५, २०८० मंगलबार

गलकोट, ५ मङ्सिर ः पेसाले जलविद्युतका इन्जिनियर हुनुहुन्छ बागलुङको बिहुँका खिमानन्द कँडेल । उहाँले  कोरोनाकालमा गाउँ फर्केर लगाएको किबीले यो वर्षदेखि उत्पादन दिन थाल्यो । चितवन र काठमाडौँको बजारमा पनि किबी पुगेको छ । 

    प्रतिकेजी रु ३०० देखि रु ५००मा किबी बिक्री गर्नुभएका कँडेलले पहिलो वर्ष नै किबीबाट रु एक लाख भित्र्याउनुभयो । 

    गाउँमा बस्दा फुर्सदिलो भएपछि २०७७ सालमा १२ रोपनी जग्गामा दुई सय २५ किबीका बिरुवा लगाउनुभएका उहाँले पहिलोपटक किबीलाई बजारमा पठाएको बताउनुभयो । 
    बागलुङको काठेखोला गाउँपालिका–५ थामडाँडा निवासी कँडेलले आफ्नो पुख्र्याैली जग्गामा किबी खेती गर्नुभएको हो । सुरुमा लगानी र मेहनत दुवै लागे पनि निरन्तर आम्दानी गर्न सकिने किबी खेती लकडाउनमा समय कटाउनका लागि लगाइए पनि अहिले व्यावसायिक बनेको उहाँको भनाइ थियो ।

    लकडाउनमा काठमाडौँस्थित इन्जिनियरिङ कन्सल्टेन्सीमा काम नभएपछि लामो समय बागलुङको बिहुँ बस्नुभएका कँडेलले लकडाउनको समयलाई भरपुर सदुपयोग गरेको जानकारी दिनुभयो । 
    “सानैदेखि राजनीतिमा समेत सक्रिय थिएँ, पेसाका कारण काठमाडौँमा केन्द्रित थिए तर २०७७ सालमा लामो समय नेपालमा लकडाउन भएकाले कोरोना छल्न गाउँ आएको थिए”, इन्जिनियर कँडेलले भन्नुभयो, “बजारमा किबीको भाउ रु छ सय केजी थियो, खेत र कोदोको भन्दा तेब्बर आम्दानी दिन सक्दो रहेछ भनेर एक महिना लगाएर खाडल खने, थाक्राको व्यवस्थापन गरे र किबी लगाएँ ।” 

    कोरोना महामारी सामान्य भएपछि काठमाडाँै गएँ तर किबीका बिरुवा हुर्कंदै गए । बीच–बीचमा किबीको स्याहारसुसार गर्न गाउँ आए पनि भाइ र बुबाले सहयोगसमेत सहयोग गरेको उहाँले बताउनुभयो । 

     दुई सय २५ किबीका बिरुवामध्ये एक सय बिरुवामा किबी फल्न थालेको र  आगामी वर्षदेखि वार्षिक रु तीन लाखसम्मको किबी बिक्री गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो । 

    उहाँले तेब्बर आम्दानी दिने र कम मेहनत गर्ने भएपछि कोदो र धान खेती छोडेर किबी खेती लगाइएको बताउनुभयो । “कोदो र धान खेतीमा कति दुःख छ, मेहनत अनुसारको आम्दानी हुँदैन, खान पुग्दैन,” कँडेलले  भन्नुभयो, “दुई सयप्रति केजीमै बिक्री भए पनि कोदो र धान खेतीभन्दा तेब्बर आम्दानी हुन्छ, कोदो र धानलाई जस्तो धेरै मेहनतसमेत गर्न पर्दैन ।”

    किबीमा एकपटक लगानी गरेपछि वर्षौंसम्म मलजल मात्रै गरे पुग्ने भएकाले यहाँका अन्य किसानसमेत किबी खेतीतर्फ आकर्षित भएका हुन् ।  

    किबी खेतीका लागि किसानलाई सहज बजारीकरण गर्न भने कठिन रहेको उहाँको भनाइ थियो । विसं २०४६ सालदेखि नेकपा एमालेको विभिन्न पदमा रही काम गर्दै आउनुभएका कँडेल २०७९ साल मङ्सिरमा सम्पन्न सङ्घीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बागलुङ क्षेत्र नं १ बाट निर्वाचित चित्रबहादुर केसीसँग प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले दस हजार मतसमेत प्राप्त गर्नुभएको थियो । कँडेलले राजनीतिमा लाग्न पनि आफ्नो आर्थिक स्रोत चाहिने भएकाले किबी खेती गरेको बताउनुभयो ।