मंसिर १०, २०८० आइतबार

काठमाडौँ, १० मङ्सिर  :  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्य सेवामा सवैको सहज, सुलभ र समान पहुँच पु¥याउनका लागि १४ जिल्लामा मानसिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । 

मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सबैमा मानसिक स्वास्थ्य पु¥याउनका लागि मनोचिकित्सक नभएका प्रत्येक प्रदेशका दुई÷दुई जिल्लामा मनोचिकित्सक पठाएर मानसिक स्वास्थ्य सेवा उपलब्ध गराएको हो । 

महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा फणिन्द्रप्रसाद बरालले मनोचिकित्सक नपुगेको जिल्लामा मानसिक स्वास्थ्य सेवा पु¥याउनका लागि मनोचिकित्सक पठाएर उपचार सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कोशी प्रदेशको पाँचथर र भोजपुर, मधेस प्रदेशमा महोत्तरी र रौतहट, बागमती प्रदेशको सिन्धुपाञ्चोक र रसुवा, गण्डकी प्रदेशको लमजुङ र म्याग्दी, लुम्बिनीको बर्दिया र रुकुम पूर्व, कर्णालीको दैलेख र कालिकोट तथा सुदूरपश्चिम प्रदेशको बैतडी र बझाङ जिल्लामा मनोचिकित्सकसहितको टोली परिचालन गरिएको छ । 

“ती जिल्लामा अहिलेसम्म मनोचिकित्सक थिएनन् । ती जिल्लामा मानसिक रोगीले आफ्नै जिल्लामा उपचार सेवा पाउने छन्”, उहाँले भन्नुभयो, “अब ती जिल्लाका मानसिक रोगी अन्य जिल्लामा जानुपरेन ।”

मनोचिकित्सकले त्यहाँ रहेका स्वास्थ्यकर्मीको सहयोगमा उपचार गर्ने छन् । शाखाले ती जिल्लामा रहेका स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्रदान गरेर त्यहाँ मानसिक रोगीको उपचार गरिरहेका छन् । “हामीले तालिम दिएका स्वास्थ्यकर्मीले पहिले त्यही रहेका मानसिक रोगीलाई उपचार गर्दछन्”, उहाँले भन्नुभयो, “ती स्वास्थ्यकर्मीले रिफर गरेका बिरामीलाई केन्द्रबाट महिनामा एक पटक जाने चिकित्सकले थप उपचार गर्दछन् ।”

शाखाले पहिलो पटक नमूनाका रुपमा १४ जिल्ला छनौट गरे पनि पछि मनोचिकित्सक नभएका अरु जिल्लामा पनि सेवा विस्तार गर्ने उहाँले बताउनुभयो ।  मनोचिकित्सकले हरेक महिना ३० जना कडा खालका बिरामीको उपचार गरिरहेको डा बरालले बताउनुभयो । ती बिरामीले निःशुल्क औषधि पाउने छन् । 

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण–२०२० मा गरिएको अध्ययनमा सय जनामध्ये १० जनामा कुनै न कुनै प्रकारका मानसिक समस्या रहेको तथ्य फेला परेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको २०१८ को तथ्याङ्कअनुसार नेपालमा बहिरङ्ग विभागमा आएका बिरामीमध्ये पाँच प्रतिशत बिरामीमा मानसिक स्वास्थ्य समस्या रहेको जनाइएको छ । 

यस्तै नेपाल प्रहरीको प्रतिवेदनमा दैनिक १८÷१९ जनाले मानसिक स्वास्थ्यका कारण आत्महत्या गर्ने गरेको जनाइएको छ ।