कास्की, १० मङ्सिर : पोखरा रङ्गशालामा आज सम्पन्न ‘फिस्टेल रेसिङ कप २०२३’ को उपाधि अजयले तामाङले जित्नुभएको छ ।
तामाङले ३८ जना प्रतियोगिहरूलाई पछि पार्दै उपाधिसहित रु एक लाख, ट्रफी पुरस्कार पाउनुभयो । फिस्टेल रेसिङ कपअन्तर्गत यही मङ्सिर ८ गतेदेखि मोटरबाइक दौड प्रतिस्पर्धा आयोजना गरिएको हो ।
नेपाल रेसिङ स्पोर्टस एशोसिएशनको आयोजना तथा भिआर ४६ को समन्वयमा सञ्चालन भएको प्रतियोगितामा सुजन थापामगर द्वितीय हुँदै रु ७५ हजार पुरस्कार पाउनुभयो । यसैगरी मोहमद फरहान तृतीय भएर रु २५ हजार पुरस्कार ट्रफी र प्रमाणपत्र पाउनुभयो ।
महिलातर्फ पाँच वाइकर्स सहभागी भएकामा वर्षा बस्नेत च्याम्पियन हुँदै रु २० हजार पुरस्कार पाउनुभयो । प्रतियोगिताका विजेता खेलाडी काठमाडौँका हुनुहुन्छ । नेपाल रेसिङ स्पोर्टस एसोसिएसनले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा बाइकर्सहरुले ‘स्टन्ट’ गर्नुका साथै ‘म्युजिकल शो’ समेत प्रदर्शनीको रुपमा आयोजना गरिएको थियो । प्रतियोगिताका विजेतालाई प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङलगायतले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गर्नुभयो ।
पोखरा रङ्गशालाभित्रको पिच सडकलाई फिसटेल रेसिङ ट्रयाकको रुपमा घोषणा गरी निरन्तर रुपमा प्रतियोगिताहरु आयोजना गर्ने नेपाल रेसिङ स्पोर्टस एशोसियसनका अध्यक्ष माइकल थापाले प्रतिबद्धता जनाउनुभयो ।
“पहिलो संस्करण भव्यताका साथ सम्पन्न भयो । यो सुरुआत मात्र हो । पोखरा सहित अन्य प्रदेशमा समेत यस्तै प्रतियोगिताहरु आयोजना गर्ने गरी अगाडि बढ्दैछौँ ।”, थापाले भन्नुभयो ।