असार ७, २०७८ सोमबार

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले योगको उद्गमस्थल नेपाल भएकाले यसलाई विश्वव्यापी बनाउनुपर्ने बताएका छन् ।
विश्व योग दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योग नेपालको सांस्कृतिक वैभवपूर्ण सभ्यतासँग जोडिएकाले विद्यालय तहदेखि नै योग शिक्षा र अभ्यासलाई महत्व दिन आग्रह गरेका हुन् ।

उनले ऋषिमुनिलाई कहिल्यै उद्धरण नगरेर फलानो प्रोफेसर भन्दैमा नेपालीहरू सीमित रहेको बताएका छन् ।महर्षि पतञ्जलीको जन्म पनि यहीँ भएर अभ्यास पनि यही भूमिमा भएको बताउँदै उनले योगमात्रै नभएर शुश्रुत र आयुर्वेदका महर्षि चरकजस्ता विद्वान् नेपालमै जन्मिएको पनि स्मरण गराए । इतिहासमा गलत उल्लेख भएको बताउँदै प्रधानमन्त्री ओलीले वास्तविक इतिहास लेखिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कक्षा ४ देखि नै योग विषयको पाठ्यवस्तु तयार भइसकेकाले योग शिक्षालाई थप प्रवर्द्धन गरिने बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले योगलाई पर्यटनका रूपमा विकास गर्न कार्ययोजना बनाइने बताए ।

योगगुरु स्वामी आनन्द अरुणले आफूभित्र मिल्नु नै योग भएको जनाउँदै नेपालले बुद्ध जयन्ती वा उपयुक्त दिनमा ध्यान दिवस मनाउन विश्व समुदायलाई प्रस्ताव गर्नुपर्ने बताए । योगगुरु डा. हरिप्रसाद पोखरेलले योग एक सर्वोच्च चेतना भएकाले यसले विविधता र एकतालाई उजागर गर्ने जनाए ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१४ देखि आजको दिन (जुन २१) लाई विश्व योग दिवस मनाउन थालेको हो । आजको दिन वर्षकै लामो दिन हो । नेपालमा माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ ।