जनकपुरधाम, १५ मङ्सिर : मदन पुरस्कार विजेता लेखक रामलाल जोशीलाई ‘बाआमा’ नामक आख्यान कृतिका लागि लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार प्रदान गरिएको छ ।
लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा जोशीलाई राष्ट्रियतर्फको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ पुरस्कार अर्पण गरियो । उहाँलाई नगद रु ५० हजारसहित सम्मान गरिएको हो ।
यसैगरी ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८०’ साहित्यकार देवराज पौडेललाई प्रदान गरिएको छ । उहाँलाई नगद रु १० हजारसहित सम्मान गरिएको हो । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, मधेस प्रज्ञा प्रतिष्ठानका कुलपति रामभरोश कापरी ‘भ्रमर’लगायतले संयुक्तरूपमा कदरपत्र तथा नगदसहित पुस्कार प्रदान गर्नुभएको थियो ।
लालबन्दी नगर वाङ्मय परिषद्ले राष्ट्रियस्तरमा ख्याति कमाएका कृति तथा स्थानीय प्रतिभाको सम्मान तथा प्रोत्साहनार्थ उक्त पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार सम्मान तथा सिफारिस समितिको सिफारिसमा परिषद्ले गत भदौ २० गते गरेको निर्णयानुसार जोशीलाई ५० हजार राशिको उक्त पुरस्कार विशेष सम्मानसहित आज प्रदान गरिएको हो ।
भाषा, साहित्य, कला र संस्कृति संरक्षणका लागि विसं २०७७ मा स्थापित परिषद्ले २०७९ मा राष्ट्रियतर्फको पुरस्कार अग्नि महाकाव्यका लागि डा नवराज लम्साल र स्थानीयतर्फ विनोद विकलाई प्रदान गरेको थियो । पुरस्कार समारोहमा वरिष्ठ साहित्यकार डा नवराज लम्साल, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुललगायतको सहभागिता रहेको थियो ।
पिता हरिभक्त जोशी र माता तुलसादेवीको कोखबाट पहिलो सन्तानका रुपमा विसं २०३१ मा सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा जन्मिनुभएका रामलाल जोशी हाल धनगढी उपमहानगरपालिका–५ कैलालीमा स्थायीरूपमा बसोबास गरिरहनुभएको छ ।
विसं २०५० देखि गजल र कविता लेखनमार्फत औपचारिकरूपमा साहित्यमा प्रवेश गरेको बताउनुहुने उहाँ त्यसयता निरन्तर साहित्य साधनामा हुनुहुन्छ । सुदूरपश्चिमलाई कर्मथलो बनाई साहित्य लेखन र साहित्यिक–सांस्कृतिक अभियानको समेत नेतृत्व गर्नुहुने जोशीका प्रायः कथामा सुदूरपश्चिम प्रदेशको परिवेश झल्काउने गरी लेखिएका छन् ।
उहाँद्वारा लिखित ‘ऐना’ कथासङ्ग्रहले विसं २०७२ मा मदन पुरस्कार प्राप्त गरेको थियो । उहाँका विसं २०७५ मा प्रकाशित थारू जनजीवनमा आधारित ‘सखी’ उपन्यास र विसं २०७९ मा प्रकाशित बाआमा नामक आख्यान बहुचर्चित छन् । त्यसअघि विभिन्न फुटकर कथा, कविता र गजलका साथै ‘हत्केलामा आकाश’ (२०५७) गजल सङ्ग्रह प्रकाशित गर्नुभएका जोशी विसं २०६० सम्म पत्रकारितासमेत हुनुहुन्थ्यो । जोशीले हाम्रो परामर्श साप्ताहिक, सौगात, कोपिला, युगपुकार, मालिका र सुरभिजस्ता साहित्यिक पत्रपत्रिकाको सम्पादन गर्नुभएको छ ।
नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएका उहाँले करिब १३ वर्षसम्म विभिन्न विद्यालय तथा क्याम्पसमा शिक्षणसमेत गर्नुभएको थियो । त्यसैगरी विसं २०२६ मा बुवा मरिणाम पौडेल र आमा भक्तमञ्जरी पौडेलको कोखबाट रामेछापमा जन्मनुभएका देवराज पौडेल हाल लालबन्दी–४ सर्लाहीमा बसेर साहित्य कर्म गरिरहनुभएको छ । स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका उहाँले शिक्षणका साथसाथै साहित्य रचना र स्थानीय धार्मिक तथा पुरातात्विक खोज अनुसन्धानमा समेत संलग्न हुनुहुन्छ ।
पौडेलले मेडहरू (लघुकथा सङ्ग्रह २०७६), श्री लक्ष्मीनाथ चितायन महादेव (खोजमूलक कृति, २०७७), वासुदेवशरण कोइरालाका नौ दशक (जीवनवृत्तमा आधारित पुस्तक–२०८०) नामक कृति प्रकाशन गर्नुभएको छ ।