कञ्चनपुर, १९ मङ्सिर ः शुक्लाफाँटा नगरपालिका–११ की ५० वर्षीय राजुदेवी रानाले महिला स्वास्थ्य स्वयंसेविका भएर कार्य गरेको दुई दशक बढी भइसकेको छ । उक्त कार्य गर्नेहरुमा नगर क्षेत्रमै उहाँ उत्कृष्ट हुनुहुन्छ ।
स्वास्थ्यकर्मी र चिकित्सक नभएको अवस्थामा गर्भवती, सुत्केरी भएकालाई अप्ठेरो परेको जुनसुकै बेला पनि राजुदेवीलाई गुहार्ने गरिन्छ । उहाँ महिला स्वयंसेविका भएपछि मानवीय सेवामा खटदै आउनुभएको छ ।
राजुदेवी भन्नुहुन्छ, “मानवीय सेवाका लागि कहिल्यै पछाडि फर्केर हेरेको छैन, यसै पेसाबाट समाजको मन जितेको छु, माया र ममता पाएको छु, सेवामै रमाउन चाहन्छु ।” विसं २०५७ सालमा आमा समूहमा आबद्ध भएर उहाँ महिला स्वास्थ्य स्वयंसेविकामा प्रवेश गर्नुभएको हो ।
त्यसबेला गाउँमा प्रौढ कक्षा सञ्चालन हुन्थ्यो । त्यसै क्रममा आमा समूहमा आबद्ध भएँ, महिला स्वयंसेविका बन्न प्रस्ताव आएपछि घरपरिवारका सदस्यहरुलाई थाहा नै नदिई सेवा प्रवेश गरेको राजुदेवी बताउनुहुन्छ ।
“स्वयंसेविकाको नियुक्त पाउने बेला निकै विरोध पनि भयो, कुरा स्वास्थ्य चौकीसम्म पुग्यो, स्वास्थ्य चौकीबाटै नियुक्ति मिल्यो, त्यसपछि पछाडि फर्केर हेरिन,” उहाँ भन्नुहुन्छ, “समाजसेवा गर्दै गएँ, सबैको विश्वास जित्न सफल भएँ, समाजसेवाकै माध्यमले सबैले चिन्दछन् ।”
स्वयंसेविका नियुक्त भएपश्चात् राजुदेवीले गर्भवतीलाई जाँच गराउन, सुत्केरी हुनेलाई बर्थिङ सेन्टरसम्म पु¥याउन, पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन खोप केन्द्रसम्म पु¥याउने कार्य गर्दै आउनुभएको छ । योसँगै गर्भवती भएकाको घरमै पुगेर आइरन चक्की खान दिने, बालबालिकालाई भिटामिन खाए नखाएको बारे सोधीखोजी गर्ने र परिवारनियोजनका अस्थायी साधन आवश्यक भएका दम्पतीलाई उपलब्ध गराउने कार्य उहाँले गर्दै आउनुभएको छ ।
प्राथमिक उपचारका कार्य पनि राजुदेवीले निरन्तर रुपमा गर्दै आउनुभएको छ । पहिला गाउँपालिका हुँदा खोप लगाउन उमेर पुगेका बालबालिकालाई खोप केन्द्रमा खोप लगाउने कार्य पनि गर्नुभएकी उहाँ अहिले गाउँघर क्लिनिक खोल्ने र सफा गर्ने कार्यसँगै खोप लगाउने बालबालिकालाई खोप केन्द्रमा पु¥याउने कार्य गर्नुहुन्छ । केन्द्रमा खोप लिन नआएका बालिबालिकाका अभिभावकलाई फोन गरेर बालबालिकालाई खोप लगाउन ल्याउन पनि सुझाउनुहुन्छ ।
सरकारी तवरबाट राजुदेवी पोशाक भत्ताबापत वर्षमा रु सात हजार र अन्य रु १५ हजार पाउनुहुन्छ । “गाउँमा कोही बिरामी भए मेरै दैलोमा पुग्छन्,” उहाँ भन्नुहुन्छ, “नाइनास्ती भन्नै सकिँदैन, धनगढी, नेपालगञ्ज र कहिलेकाहीँ काठमाडौँ, भारतको नयाँ दिल्ली, कलकतासम्म पुग्नुपर्छ । गाउँघर क्लिनिक सञ्चालन हुने ठाउँमा किटबक्ससँगै त्यसमा प्राथमिक उपचारका लागि आवश्यक औषधि र एक दराज मात्रै उपलब्ध गराइएको छ । ”
“आमा समूहको मासिक समीक्षा बैठकलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाबाट प्रतिनिधि पठाए मनोबल बढ्छ,” राजुदेवी भन्नुहुन्छ, “आफ्ना कुरा सुन्ने कोही त हुनु प¥यो, समस्या समाधान नहुँदा निकै निराश पनि भइन्छ ।”
“सेवासुविधामा तलब त भन्दैनौँ, सेवामा खटिएका स्वयंसेवक हौँ तर काम गर्ने दिन तोकिदिनु पर्छ,” उहाँ जोड दिनुहुन्छ, “दिनरात काममा खटिनेलाई खाजा भत्ता त नगरपालिकाका तर्फबाट दिन सक्नुपर्छ, दोब्बर भत्ता दिने भनेको धेरै भयो, त्यो पनि पाइएको छैन ।”
“स्वयंसेविकाको पनि परिवार भएकाले ६० वर्ष उमेर पुग्दा सेवा निवृत्त हँुदा पेन्सनको व्यवस्था गरिदिए बेस हुन्थ्यो, रित्तो हात घर फर्कनुपर्ने अवस्था छ, केही स्थानीय तहले यो व्यवस्था गरेका छन्, यहाँ भने सुनुवाइ नै हुँदैन,” उहाँ भन्नुहुन्छ ।
स्वास्थ्य संस्था पु¥याउन नपाउँदै बाटोमै सुत्केरी भएका धेरैलाई स्याहारेको अनुभव राजुदेवीसँग छ । यस्तो अवस्थामा बच्चा र आमालाई बचाउन पाउँदा निकै गर्व महसुस हुने राजुदेवीको भनाइ छ । सुत्केरी स्याहार्न हामी घरमै पुग्छाँै, घरका व्यक्तिहरुले सुत्केरीलाई छोइछिटो गरी छुन पनि जाँदैनन् त्यस्तो अवस्थामा काम गर्दा पनि कसैले महिला स्वास्थ्य स्वयंसेविकालाई एक छाक खाना खाउ भनेर पनि सोध्दैनन्, यस्तो अवस्थामा पनि काम गर्नु परेको उहाँको गुनासो छ ।
“महामारी आयो सबै घरमै थुनिएर बसे, हामी महिला स्वयंसेविका घामपानी नभनीकनै बिरामीको उपचारमा जुट्यौँ,” राजुदेवी भन्नुहुन्छ, “घामपानी छेक्न एकवटा छाता त दिनोस्भन्दा बजेट छैन भनेर पन्छाइयो ।”
विसं २०७५ सालमा वडा कार्यालयका तर्फबाट एकवटा साइकल पाइएका थियौँ, त्यो पनि जीर्ण हँुदा पैदल नै सुत्केरी र गर्भवती स्याहार्न हिँड्नु परेको गुनासो गर्दै उहाँ भन्नुहुन्छ,“गाउँमा बिरामी भए पहिलो फोन महिला स्वास्थ्य स्वयंसेविकालाई नै आउँछ, फोन आउँदा घरको सबै काम छाडेर त्यसमै होमिन्छौँ तर महिला स्वयंसेविकाको पीडा हेर्ने कोही हँुदैन ।”
स्वास्थ्य क्षेत्रको सफलतामा महिला स्वयंसेविकाको ठूलो हात रहे पनि हेर्ने दृष्टिकोणमा सुधार नआउँदा अभावमै बाँच्नु परेको राजुदेवी बताउनुहुन्छ ।