राजविराज (सप्तरी), २२ मङ्सिर : अलपत्र छाडिएको सप्तरीको राजविराज नगरपालिका–१० बिरौलमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य सुरु गर्न माग गर्दै आन्दोलनरत युवाले हस्ताक्षर अभियान सुरु गरेका छन् ।
सप्तरी युथ नेपालले दोस्रो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत हस्ताक्षर अभियान सुरु गरेको हो । प्रतिष्ठान निर्माणका लागि दबाब दिन सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाइमा सप्तरीको राजविराजमा सुरु गरिएको हस्ताक्षर अभियान आज तेस्रो दिन पनि जारी छ ।
दुई वर्षअघि शिलान्यास गरेर अलपत्र अवस्थामा छाडिएको सो प्रतिष्ठानको निर्माण कार्य सुरु गर्नुपर्ने मागसहित आन्दोलमा उत्रिका युवाले हस्ताक्षर अभियान सात दिनसम्म चलाउने आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले बताउनुभयो ।
हस्ताक्षर अभियानबाट पनि माग उपर सुनवाइ नभए तेस्रो चरणको आन्दोलनका थप कार्यक्रमहरु घोषणा गरिने आन्दोलन परिचालन समितिका संयोजक यादवले जानकारी दिनुभयो । प्रतिष्ठान निर्माणको काम अविलम्ब सुरु गर्न माग गर्दै युवाले यसअघि पहिलो चरणमा ¥याली, सिट्टी जुलुस, धर्ना, दिउँसै टर्च बालेर प्रदर्शन लगायतका कार्यक्रम गरिसकेका छन् ।
प्रतिष्ठान निर्माण सुरु गर्न माग गर्दै विगत ५६ दिनदेखि सप्तरीको राजविराज नगरपालिका–१० बिरौलमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणस्थलमा नै स्थानीयले रिले अनशनसलाई निरन्तरता दिइरहेका छन् । सरकारले अझै चासो नदेखाएको भन्दै युवाले पनि चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै सरकारमाथि दबाबको प्रयास थालेका हुन् ।
हस्ताक्षर अभियानको पहिलो दिन एक हजारभन्दा बढी र आज तेस्रो दिनसम्ममा करिब चार हजार पाँच सय जनाले समर्थन जनाई ब्यानरमा हस्ताक्षर गरेको सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहनकुमार यादवले जानकारी दिनुभयो ।
सप्तरी युथ नेपालले यही मङ्सिर १० गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर पहिलो चरणको आन्दोलन सुरु गरेको थियो । विसं २०७५ मा मन्त्रिपरिषद् बैठकले राजविराज–१० बिरौलस्थित प्रतिष्ठान निर्माण गर्ने निर्णयपछि २२ असार २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको शिलान्यास गर्नुभएको थियो ।