मंसिर २७, २०८० बुधबार

काठमाडौँ, २७ मङ्सिर: काठमाडौँ महानगरपालिकाले आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

महानगरले खैनी, गुट्खा, पानपरागजस्ता सुर्तीजन्य पदार्थको बिक्रीका साथै सार्वजनिकस्थलमा धूमपानमा प्रतिबन्ध लगाएको महानगरको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताउनुभयो । उहाँले सुर्तीजन्य पदार्थको बिक्री गरेको पाइएमा महानगर प्रहरीले ती पदार्थ जफत गरी सम्बन्धित बिक्रेतालाई कानुनी कारबाही गरिने बताउनुभयो ।

यसअघि महानगरले आजदेखि लागु हुनेगरी सुर्तीजन्य पदार्थको बिक्री तथा धूमपानमाथि प्रतिबन्ध लगाइएको सार्वजनिक सूचना जारी गरेको थियो काठमाडौँ महानगर जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुला क्षेत्र तोक्न सक्ने, बालबालिकालाई बिक्री वितरण गराउन नपाइने, सार्वजनिकस्थलको चारकिल्ला तोकी उक्तस्थल वरपर सुर्तीजन्य र पत्रुखानेकुरा बिक्रीमा निषेध गर्न सक्ने कानुनी व्यवस्था छ ।

प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट र सुर्ती खान रोक लगाएको थियो । महानगरले सार्वजनिक ठाउँ, विमानस्थल, सार्वजनिक शौचालय, मठमन्दिर, पाटीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्धाश्रम, पसल, पार्कलगायत क्षेत्रमा चुरोट नखान पनि आग्रह गरेको छ । अटेर गर्नेलाई कारबाही गरिने काठमाडौँ महानगरले जनाएको छ ।