पर्वत, २९ मङ्सिर : पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल पञ्चासे यतिबेला पर्यटकको पर्खाइमा रहेको छ ।
पर्यटकीय याम भए पनि अन्य क्षेत्रमा जस्तो यहाँ चहलपहल बढ्न सकेको छैन । यो गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि उचित प्रचार–प्रसार र प्रवर्द्धनको अभावमा ओझेलमा परेको स्थानीय बताउँछन् । पञ्चासेमा पर्यटकलाई लोभ्याउने धेरै कुरा छन् ।
पर्यटकीय राजधानी पोखराबाट नजिकै रहे पनि सहज सडक पूर्वाधार तथा पदमार्गको अभावमा पपर्यटक पुग्न सकेका छैनन् । समुद्री सतहबाट दुई हजार पाँच सय १७ मिटरको उचाइमा अवस्थित पञ्चासे डाँडामा पुग्नेहरू पञ्चासेमा रमाउने गरेका छन् ।
यहाँ मुख्यगरी बालाचतुर्दशीका दिन हजारौँ भक्तजनको भीड हुने गर्दछ । शतबीज छर्नका लागि नेपालका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्दछन् । यहाँ आउनेहरूले सडकमार्ग छाडेपछि पञ्चासेको मुख्य मन्दिर र तालसम्म उकालो हिँड्दाको थकाइसँगै चुचुरोमा एकैछिन आराम गर्छन् र चारैतिरको सुन्दर दृश्य आँखामा कैद गरेर मन्त्रमुग्ध हुने गर्दछन् ।
समुद्र सतहदेखि दुई हजार पाँच सय नौ मिटरको उचाइमा रहेको बैदान तालको लम्बाइ एक सय १० मिटर र चौडाइ २५ मिटर छ । झण्डै १० मिटर गहिरो यो ताल चारैतिरबाट जङ्गलले घेरिएको छ । जङ्गलको बीचमा भए पनि यो तालमा पात पतीङ्गर देख्न पाइँदैन । पञ्चकोशी पञ्चासेको नामले समेत चिनिने बैदान ताल पञ्चासे लेकको सबैभन्दा सुन्दर गहना हो ।
तालको छेवैमा बाराही मन्दिर छ । बैदान तालमा रहेको पानीको मूल र निकास नदेखिनु अर्को रमाइलो पक्ष हो । अर्को अचम्मलाग्दो रमाइलो पक्ष के भने, जङ्गलको छेवैमा रहेको तालमा पातपतिङ्गर नै देखिँदैनन् । पात तालमा परे पनि तत्कालै चराले फाल्ने गरेकाले तालमा नरहने स्थानीय सुशीलादेवी गुरुङले बताउनुभयो ।
पञ्चासे लेकबाट उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला, दक्षिणतर्फ पाल्पाको श्रीनगर डाँडा र तराईका फाँट देखिन्छन् । पञ्चासेको ‘भ्यूटावर’बाट पोखरातिर फर्किएर नियाल्दा पोखरा बजार र फेवातालमात्रै होइन, दक्षिण–पश्चिमतर्फ नजर डुलाउँदा पर्वतको कुश्मा, फलेवास, डहरेको लेक, कार्कीनेटा, स्याङ्जाको भदौरे, आँधीखोलालगायतका ठाउँ देखिन्छन् । पञ्चासे लेकमै उभिएर म्याग्दी, गुल्मी र बागलुङका कैयौँ मनोरम दृश्य नियाल्न पाउँदा पर्यटक रोमाञ्चित हुने गरेको पाइन्छ ।
गुरुङ समुदायको बसोबास रहेको पञ्चासे ग्रामीण पदयात्राका हिसाबले गण्डकी प्रदेशकै सीमित ठाउँमध्ये पर्दछ । पञ्चासे पुग्न कास्कीको फेवाताल, पामे र भदौरेसम्म मोटरमा तथा त्यसपछि तीन–चार घण्टा पैदल हिँडेर आउन पनि सकिन्छ । कास्कीकै लुम्ले, काँडे, भदौरे र देउराली हुँदै तीन घण्टा तथा पर्वतको कुश्मा, डिमुवा, चित्रे, आर्थर हुँदै दुई घण्टा पैदल हिँडेर पनि पञ्चासे पुग्न सकिन्छ ।
हिउँदमा पर्वतको डिमुवाबाट चित्रे हुँदै तथा स्याङ्जाको फेदीखोला, आरुखर्क हुँदै पञ्चासे भञ्ञ्याङसम्मै गाडी पुग्छ । अहिले पञ्चासे पुग्न मोटरको सुविधा भए पनि पदयात्रा गर्दाको आनन्द फरक हुने पञ्चासेमा आइपुगेका कुश्माका विषमकुमार श्रेष्ठले बताउनुभयो । कैयौँ स्वदेशी तथा विदेशी पर्यटक हिँडैरे पञ्चासे पुग्ने गर्दछन् ।
पञ्चासेले ऐतिहासिक र धार्मिक महत्व पनि बोकेको छ । पाँच पाण्डव गुप्तवासमा रहँदा बसोबास गरेका, बाइसे–चौबीसे राजाका किल्ला, सिद्धबाबालगायतका मन्दिर, गुफा र चैत्य पञ्चासे क्षेत्रका दर्शनीयस्थल हुन् । पञ्चासेमा बालाचतुर्दशीमा शतबीज छर्नेहरूको घुइँचो लाग्छ भने अन्य समयमा पञ्चासेले पर्यटकको पर्खाइमा रहेको स्थानीय होटल व्यवसायी लोकबहादुर गुरुङले बताउनुभयो ।
पञ्चासेमा रहेको जलाधार क्षेत्रको संरक्षण गर्न पाँच हजार पाँच सय हेक्टर वन क्षेत्रमध्ये एक हजार सात सय हेक्टर वन समुदायलाई हस्तान्तरण गरिएको छ । पञ्चासेमा पाँच सय ८९ किसिमका फूल, एक सय ५० औषधिजन्य जडीबुटी, ९८ प्रकारका उन्यू र आठ प्रजातिका रेसादार वनस्पति पाइन्छन् । पञ्चासे क्षेत्रको जङ्गलमा विभिन्न प्रजातिका चराचुरुङ्गी र दुर्लभ कालो भालुसहितका वन्यजन्तु पाइन्छन् । यस क्षेत्रमा एक दर्जनभन्दा बढी खर्कसमेत रहेका छन् ।
सात सय सय ८४ मिटरदेखि दुई हजार पाँच सय १७ मिटरसम्मको उचाइमा पर्ने पञ्चासे लोपोन्मुख सुनाखरीको राजधानी नै मानिन्छ । सूर्योदय र सूर्यास्त हेर्ने रहर पनि पञ्चासेले नै पूरा गरिदिन्छ । पर्वतको मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले पञ्चासे क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको बताउनुभयो ।
उहाँले बाटोघाटो, धर्मशाला, खानेपानीलगायतका पूर्वाधार निर्माणका काम अघि बढाइएको र पर्वतले पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गुरुयोजना बनाएको बताउनुभयो । उहाँले तीन जिल्लाको साझा बिन्दुमा रहेकाले सबै मिलेर यसको प्रवर्द्धन गर्न सके वार्षिक लाखौँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।